हिमालयन बैंक (HBL) ले आर्थिक वर्ष ०७६र०७७ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १५ प्रतिशतले धेरै हो।
गत आर्थिक बर्षको यसै अवधिमा बैंकले २ अर्ब एक करोड ४० लाख खुद नाफा गरेको थियो। बैंकले तेस्रो त्रैमासिक अवधिमा मात्र ५७ करोड नाफा गरेको छ। बैंकको गत असोजसम्मको खुद नाफा १ अर्ब ७४ करोड थियो।
बैंकको ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेपछि खुद नाफामा सुधार आएको हो। साथै बैकले यस अवधिमा खराब कर्जाको आकार समेत घटाएको छ।
बैंकको कोषको लागत तथा आधारदर घटेको छ । पूँजी कोष अनुपात १३.४२ प्रतिशत रहेको बैंकको कोषको लागत र आधार ब्याजदर घट्नुलाई बैंक, शेयरधनी तथा ऋणी सबैलाई फाइदाको नै विषय हो।
बैंकको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा सामान्य सुधार आएको छ । गत वर्षको चैतको तुलनामा १ रुपैयाँ ४४ पैसा बढेर प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा कायम भएको छ।
राष्ट्र बैंकले तोकेको बैधानिक र नियामकीय जगेडा कोष ब्यवस्थापन पश्चात बैंकको वितरणयोग्य ८२ करोड ८७ लाख ६३ हजार रुपैयाँ छ । जुन गत पुसको तुलनामा १० करोड कम हो । बैकको गत पुस मसान्तसम्म वितरण योग्य मुनाफा ९२ करोड ९२ लाख ९० हजार थियो।
बैंकको खुद ब्याज आम्दानी करिब ८ करोड तथा सञ्चालन मुनाफा २२ करोड बढीले वृद्धि भएको छ। चैतसम्म बैकले ३ अर्ब ८४ करोड खुद ब्याज आम्दानी गरेर ३ अर्ब ८ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ।
९ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ।
चैत मसान्तसम्ममा बैंकले १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसको निष्क्रिय कर्जा १.३१ प्रतिशतबाट १.११ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ५० पैसा तथा मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ।












प्रतिक्रिया