चार अर्बको नागरिक बचतपत्रमा लगानीको अवसर, वार्षिक ९% ब्याज पाइने

0
Shares

नेपाल राष्ट्र बैंकले सर्वसाधारणले लगानी गर्न पाउने गरि ९ प्रतिशत (ब्याजकर सहित) वार्षिक ब्याजदरको ४ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ ।

आगामी जेठ १ गतेदेखि निष्काशन सुरु भई २५ दिनपश्चात जारी हुने बचतपत्र खरिदका लागि २५ गतेसम्म सर्वसाधारणले आवेदन दिनसक्ने छन् । पाँच वर्षे उक्त बचतपत्र आगामी २०८२ जेठ २५ गते परिपक्क हुनेछ।

यसको आवेदन पत्र केन्द्रीय बैंकबाट बजार निर्माताको इजाजत लिएका बैंक तथा वित्तीय संस्थाका साथै राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयहरुमा उपलब्ध हुनेछन् ।

चार अर्ब रुपैयाँ बराबरको बचत पत्र मध्ये आवेदकले कम्तीमा १० हजार रुपैयाँ बराबरको आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । त्यसभन्दा बढीको आवेदन गर्दा १० हजार रुपैयाँले भाग जाने अंकमा हुनुपर्नेछ ।

यो बचतपत्र विद्यमान वाणिज्य बैंकहरुले दिईरहेको मुद्धती निक्षेप भन्दा कम धेरै प्रतिफल पाउने खालको लगानी हो । अहिले वाणिज्य बैंकले निक्षेपमा ७ प्रतिशतसम्म ब्याज दिईरहेका छन् । यो ब्याजदरमा बैंकहरूले संस्थालाई १ प्रतिशत र व्यक्तिलाई ०.५ प्रतिशत ब्याज बढाएर दिन पाउँछन् ।

बचतपत्र खरिदकर्ताले प्रत्येक ६/६ महिना ब्याज पाउने छन् भने २०८२ साल जेठ २५ गते सावाँ भुक्तानी हुने जनाईएको छ । लगानीकर्ताले बचतपत्रलाई धितो राखेर बैंकहरुबाट कर्जा पनि लिन सकिने सुविधा पनि रहन्छ ।

प्रकाशित मिति: २८ बैशाख २०७७, आइतबार  १३ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।