पहिलो खुलामुखी म्युचुअल फण्डले प्रथम वर्षमा नै बाँड्ने भयो लाभांश

0
Shares

नेपालमा पहिलो पटक खुलामुखी अवधारणामा सञ्चालित एनआईबिएल सहभागिता फण्ड म्युचुअल फण्डले पहिलो वर्षमा नै आफ्ना इकाइधनीलाई लाभांश वितरण गर्ने भएको छ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको शुक्रबार सम्पन्न सञ्चालक समितिको ८० औं बैठकले आर्थिक वर्ष २०७६/७७ बाट इकाईधनीलाई ८.२५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरणका लागि शुक्रबार नै इकाइधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ। यसअनुसार असार २२ गते बिहीबरसम्म कायम रहेका इकाइधनीले मात्र उक्त लाभांश पाउनेछन्।

एनआईबिएल एस क्यापिटलले २०७६ जेठ १९ गतेदेखि सामूहिक लगानी कोष (म्युचुअल फन्ड) एनआईबिएल सहभागिता फण्डको २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको थियो। यसको कारोबार २०७६ असोजदेखि सुरु भएको थियो।

हाल फण्डको आकार वृद्धि भई २० करोड ९५ लाख ४० हजार ६८० रुपैयाँ बराबरको २ करोड ९ लाख ५४ हजार ६८ इकाई बजारमा कायम छ। क्यापिटलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीका लागि नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पाएको छ। लगानीकर्ताको मागअनुसार थप इकाई बिक्री गर्दै जाने क्यापिटलका सुभाष पौडेलले जानकारी दिए।

यो खुलामुखी फण्डको इकाईहरु एनआईबिएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु बिराटनगर, वीरगञ्ज, लगनखेल, बुटवल, पोखरा तथा लालदरवारबाट र नेपाल ईन्भेष्टमेण्ट बैंकका शाखा कार्यालयहरु बिर्तामोड, लालवन्दी, बीरगञ्ज, सिपाडोल, नारायणगढ, हेटौंडा, नेपालगंज, तुलसिपुर, सुर्खेत तथा धनगढीबाट समेत खरिद बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ ।

धितोपत्र बोर्डले आर्थिक वर्ष २०७४/७५ देखि खुलामुखी सामूहिक लगानी कोष योजना प्रवेश गराउने रणनीति अंगिकार गरेको थियो। सोही नीति अनुरुप एनआईबिएल एस क्यापिटललाई पहिलो खुलामुखी फण्ड सञ्चालन गर्ने अनुमति दिएको थियो। 

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।