नेपालको प्राथमिक बजारमा बुक विल्डिङ्ग विधि कार्यान्वयनमा ल्याउने सम्बन्धमा लामो समयदेखि चर्चा हुँदै आएकोमा पछिल्लो समय नियामक निकाय धितोपत्र बोर्डले नै प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा बुक बिल्डिङ्ग विधि लागू गरेको छ ।
नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा भएको बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न सकिने व्यवस्था बमोजिम उक्त विधि कार्यान्यनका लागि बुक बिल्डिङ निर्देशिका, २०७७ लागू गरेको हो ।
धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागूू गरेसँगै लगानीकर्ताले शेयर बजारमा यो विधि कसरी लागू गरिन्छ र यसले बजारमा कस्तो प्रभाव पार्छ भन्ने चासो पाइन्छ ।
साधारणतया सार्वजनिक निष्काशनमा प्रतिकित्ता १०० रुपैयाँ मा निष्काशन नगरी योग्य संस्थागत लगानीकर्ताहरुको मागको आधारमा वास्तविक मूल्य निर्धारण गर्ने विधि नै बुक बिल्डिङ्ग विधि हो ।
अर्थात बुक बिल्डिङ्ग विधि भन्नाले योग्य संस्थागत लगानीकर्ताहरूको मागको आधारमा प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रको वास्तविक एवं न्यायोचित मूल्य निर्धारण विधि हो ।
यो विधि लागू भएपनि यसअघि जस्तै अंकित मूल्यमा पनि आईपीओ भने जारी हुनेछन् । आईपीओ निष्कासनमा लागू गरिएको उक्त विधि सबै कम्पनीलाई अनिवार्य नभएको बोर्डका अध्यक्ष भिष्म राज ढुङ्गानाले यसअघि नै बताइसकेका छन् ।
बजारले देशको आर्थिक स्थिति यर्थाथ रूपमा प्रतिबिम्बित गर्न सक्छ भन्ने मान्यतालाई लागू गर्न अन्य क्षेत्रका कम्पनीहरू खास गरी वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमार्फत पूँजी परिचालन गराउन बुक बिल्डिङ्ग विधि महत्वपूर्ण माध्यम मानिन्छ । यसले प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्र तथा शेयरको वास्तविक र न्यायोचित मूल्य निर्धारण गर्दछ ।
सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाहरूले निम्न बमोजिमको शर्तहरू पूरा गरेपश्चात् मात्र बुक बिल्डिङ्ग विधिबाट प्रिमियम मूल्यमा धितोपत्र निष्काशन गर्न योग्य हुनेछन्। यस्ता शर्तहरुमा
१. कम्तिमा ३ बर्षदेखि कारोबार सञ्चालन गरेको वा व्यापारिक उत्पादन गरिरहेको हुनुपर्ने ।
२. कम्तिमा पछिल्लो दुई आर्थिक बर्ष खुद नाफा आर्जन गरेको हुनुपर्ने ।
३. कम्तिमा पछिल्लो दुई आर्थिक बर्ष व्यवसाय सञ्चालनबाट नगद प्रवाह धनात्मक हुनुपर्ने ।
४. निष्काशन गर्ने धितोपत्रको कम्तीमा ५० प्रतिशत धितोपत्रको प्रत्याभूति गराउनुपर्ने ।
५. सार्वजनिक निष्काशनमार्फत संकलन गरिने रकम कम्तीमा २५ करोड रूपैयाँ हुनुपर्ने ।
६. संगठित संस्थाको आधारभूत शेयरधनी र सञ्चालकहरू कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको ।
योग्य संस्थागत लगानीकर्ता: प्रचलित कानून बमोजिम नेपालमा आफ्नो व्यवसाय सञ्चालन गरेका देहाय बमोजिमका संस्थाहरूले बुक बिल्डिङ्ग विधिमा बोलकबोलमा सहभागी हुन पाउनेछन् । जसअन्तर्गत मर्चेन्ट बैंकर तथा पोर्टफोलियो व्यवस्थापक, सामूहिक लगानी कोष योजना, बजार निर्माता/डिलर, बैंक तथा वित्तीय संस्थाहरू, बीमा कम्पनीहरू, विशिष्टिकृत लगानी कोष, तथा धितोपत्र बजारमा सूचीकृत भएका अन्य संस्थाको शेयरमा लगानी गर्ने उद्देश्यसहित स्थापित संगठित संस्थाहरू, कर्मचारी सञ्चय कोष,नागरिक लगानी कोष,र बोर्डले स्वीकृति प्रदान गर्ने अन्य संस्थाहरूले पनि सहभागिता जनाउन सक्नेछन्।
वास्तवमा आईपीओमा बुक बिल्डिङ प्रक्रिया अपनाउनुको आशय नै प्रिमियममा आईपीओ जारी गर्ने हो । बुक बिल्डिङ भनेको एक प्रकारको लीलामी प्रक्रिया नै हो । यस प्रणालीमा कम्पनीले सार्वजिनक निष्काशन गर्न चाहेको कुल धितोपत्रमध्ये सीमित लीलामी गरिन्छ । र, त्यसबाट निर्धारित प्रिमियमको आधारमा बाँकी धितोपत्रको निष्काशन गर्दा मूल्य निर्धारित गरिन्छ ।
- प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू
- शेयरमा बुक बिल्डिङ्ग आउँदा लगानीकर्ता, कम्पनी र बजार सबैलाई फाइदा
- आईपीओ भर्ने अवधि घट्यो, बुक बिल्डिङ्ग विधि समेत प्रयोगमा आउँदै
- बुक बिल्डिङमा सहभागी हुन योग्य संस्थागत लगानीकर्ताको सूची बनाउँदै धितोपत्र बोर्ड, आवेदन माग
- बुक बिल्डिङले राम्रा कम्पनीमा ठूला लगानीकर्ताको एकाधिकार हुने जोखिम
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया