
सरकारले जग्गा जमीनको कित्ताकाट माथिको प्रतिबन्ध हटाएको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले एक पत्र जारी गर्दै जग्गाको कित्ताकाटमाथि लगाइएको प्रतिबन्ध हटाएको जनाएको हो ।
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रीस्तरिय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएको बताएकी छन् । मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो ।
मन्त्रालयले भू-उपयोग ऐन २०७६ र प्रचलित कानून अनुसार गर्ने गराउने भन्दै विगतमा जारी भएका सबै निर्णय खारेज गरेको हो। ऐन अनुसार जग्गाको वर्गीकरण गरिएको नक्सा तयार पारिएकाले नक्सामा उल्लेख भए अनुसार मात्रै जग्गाको उपयोग गर्न पाइने छ।
मन्त्रालयका अनुसार नक्सामा कृषि योग्य जग्गा भनिएको ठाउँमा कित्ताकाट गर्न पाइने छैन। तर अन्य क्षेत्रमा वर्गीकरण गरिएको जग्गाको हकमा भने कित्ताकाट गर्न सकिने मन्त्रालयले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउन सुझाव दिएपछि मन्त्रालयले खुलाएको हो ।
कित्ताकाटमाथि लागेको प्रतिबन्ध हटेपछि अब खुलेआम रुपमा जग्गा प्लटिङ गर्न पाइने भएको छ । जसबाट घरजग्गा व्यवसायी उत्साहित भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया