बुधबार शेयर बजार परिसूचक १ हजार ७०० भन्दा माथि पुगेको छ । कोरोना भाइरसका कारण अर्थतन्त्र जटिल अवस्थामा रहेको भएपनि शेयर बजार भने निरन्तरता सुधारको बाटोमा देखिएको छ । कोरोनाका कारण ठप्प भएको अर्थतन्त्रका कारण धितोपत्र बजार पनि घट्ने विश्लेषण गरिएको भएपनि बजारले त्यसको विपरित दिाशा लिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण लगानीका अन्य क्षेत्र संकुचित हुँदा शेयर बजारमा लगानी भित्रिएको देखिन्छ । तर, अहिलेको समयमा शेयर बजारमा आएको पैसा कति समय टिक्छ भन्नेकुरा भने अन्यौल नै छ । बैंक वित्तीय संस्थामा अधिक तरलता र सस्तो ब्याजदरमा कर्जा उपलब्ध भएकाले पनि बजार बढेको हो ।
कोरोनाको असर केही कम हुने बित्तैकै शेयर बजार पैसा झिकेर अन्य क्षेत्रमा जाँदा बजार घट्ने निश्चित छ । त्यसैले शेयर बजारलाई आफ्नो पेशा र ब्यवसाय मान्ने लगानीकर्ता चनाखो भएर कारोबार गर्नुपर्ने देखिन्छ । पछिल्लो समयमा शेयर बजारमा आएको उतार चढावमा सन्दर्भमा नोटबजारका परमेश्वर अधिकारीले सरोकारवालाहरुसँग गरेको कुराकानी:-

- देशको अर्थतन्त्र हेरेर लगानी गर्नुपर्छ
निरज गिरी, (कार्यकारी निर्देशक तथा प्रवक्ता, नेपाल धितोपत्र बोर्ड)
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरी लगानीकर्ताहरुले जहिले पनि लगानी गर्दा देशको अर्थतन्त्र, प्रोजेक्शनहरुलाई याद गर्दै एकदमै सजगतापूर्वक लगानी गर्न आफुले कति जोखिम बहन गर्नसक्छु भनेर हेर्नुपर्ने बताउँछन्।
विभिन्न सञ्चारमाध्यममा इक्डेक्स यति पुग्छ, बुल रन हो जस्ता विभिन्न कुराहरुमा आउनु स्वभाविक नै रहेको भन्दै उनले लगानीकर्ता आफैँले लगानी गर्दा भने कम्पनीको विगतका र भविष्यमा गर्नसक्ने प्रगति, देशको अर्थतन्त्र हेरेर लगानी गर्नुपर्ने बताए ।
यस्तो बेलामा लगानीकर्ता अझ सजग हुनुपर्ने बताए। लगानी गर्ने हो, अवसर छ भनेर जहाँपायो त्यहि लगानी नगरी कम्पनी छनौट गरेर लगानी गर्नुपर्ने उनको सुझाव छ ।
- ब्याजदर नबढ्दासम्म नेप्सेमा ठूलो करेक्शन आउने सम्भावना न्यून छ
अम्बिका पौडेल (लगानीकर्ता तथा पूर्व अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम )
विश्व शेयर बजारसँगै नेपाली शेयर बजार पनि एउटै लयमा गैरहेको उनको बुझाई छ । बैंकिङ्ग प्रणालीमा २ खर्ब र सरकारसँग २ खर्ब बढीको तरलता भैरहेको समाचारहरु प्रवाह भैरहेको छन् ।
कोभिडका कारण अन्य क्षेत्रहरुमा लगानी संकुचन भैरहेको अहिलेको सन्दर्भमा प्रयाप्त मात्रामा तरलता र त्योभन्दा ठूलो लगानीकर्ताको मनोबलका कारण नेपालमा लामो समयपछि नयाँ नयाँ रेकर्डहरु कायम भएका छन् ।
आजभन्दा ४ वर्षअघि ९ हजार ८०० बिन्दुमा आएर फर्किएको जीबन बीमाको सूचक दश हजारभन्दा माथि नाघेको छ । यसभन्दा अघि दशैं तिहारको बीचमा न्यून कारोबार हुने गरेकोमा कारोबार रकम लगातार दुई दिन ४ अर्ब नाघेको छ । कारोबार रकम, तरलता, र सस्तो ब्याजदरमा कर्जा पाउने सरलताले गर्दा लगानीकर्ताको मनोबल उच्च भएको उनको विश्लेषण छ ।
यसका साथै बैंक ब्याजदर घटेर न्यून बिन्दुमा आएका कारण पनि लगानीकर्ताको पहिलो रोजाई बचतभन्दा शेयर बजारमा लगानीमा केन्द्रित बनेको छ । यो अवस्था रहुन्जेलसम्म नेप्सेमा ठूलो करेक्शन आउने सम्भावना न्यून रहेको उनले बताए ।
घट्ने र बढ्ने नै पूँजीबजारको सुन्दर पक्ष भएकाले एकदुई दिन बजारमा करेक्शन आउँदै डराउनु नपर्ने भन्दै उनले घट्नेभन्दा बढ्ने अंक ठूलो रहेकाले बुलिस मार्केटको संकेत रहेको उनले बताए । साउनदेखि नै यो ट्रेण्ड रहेकाले लामो समयसम्म रहने विश्वास लगानीकर्तामा रहेकाले यो वृद्धि सम्भव भएको उनले बताए ।
अहिले शेयर बजार चुजी बनेको छ । जुनपनि जस्तोपनि बढ्नेभन्दा कम्पनीको प्रगतिका आधारमा राम्रो प्रगति गर्नेको बढी र कमजोर प्रगति गर्नेको कम बढोत्तरी भैरहेको अवस्था रहिरहेको उनको बुझाई छ । कोभिड असर र लकडाउनका कारण धेरै लगानीकर्तामा पहिलो त्रैमासमा सूचीकृत कम्पनीको पफमेन्स धेरै बिग्रन्छ भन्ने सोच रहेकोमा यो समयमा पनि राम्रो आएकाले अब कोभिड भ्याक्सिन समेत बनिसकेको समाचार आएकाले विश्व बजारमा जस्तै नेपालमा पनि त्यो दुविधा हटेकाले पछाडि फर्केर बस्नुपर्ने अवस्था नरहेको उनको भनाई छ ।
धितोपत्रको दोस्रो बजार हालसम्मकै ठूलो बन्यो, बजार पूँजीकरण २३ खर्ब नजिक
- बैंकिङ क्षेत्रको सुधार आउने सम्भावना न्यून
हेमन्त बस्याल, (वित्तीय विश्लेषक)
शेयर बजारमा दिर्घकालीन सुधारका लागि बैंक वित्तीय संस्थाको शेयर मूल्यमा सुधार आउनुपर्ने हुन्छ । अहिलेको अवस्थामा यो क्षेत्रका कम्पनीको शेयर मूल्यमा उच्च सुधार आउने सम्भावना न्यून भएको हुनाले बजारको सुधार दीर्घकालीन हुन्छ भन्नेमा शङ्का नै छ ।
बैंक वित्तीय संस्थाले कर्जाको जोखिम न्यूनीकरणका लागि प्रोभिजनिङ गर्नु पर्छ । कर्जा डिफल्ट भएको खण्डमा संस्थालाई हुने जोखिम प्रोभिजनिङ मार्फत न्यूनीकरण गर्छन । तर, कर्जा नउठेको खण्डमा बैंक तथा वित्तीय संस्थाले नाफावाट प्रोभिजनिङ गरेको रकम मार्फत मिलान गर्नु पर्दा संस्थाको नाफा घट्न जान्छ । आगामी दिनमा बैंक तथा वित्तीय क्षेत्रमा ३ देखि ५ प्रतिशतको डिफल्ट आउने सम्भावना छ । यो दरको डिफल्ट आएको खण्डमा बैंकहरुको नाफा उल्लेख्य रुपमा घट्छ । त्यसका लागि अहिले देखि नै सोच्नुपर्ने देखिन्छ । त्यसले गर्दा पनि बैंकिङ क्षेत्रको शेयर मूल्य उच्च दरमा बढ्ने सम्भावना छैन ।
धितोपत्र बजारमा हुने कारोबारका आधारमा मात्र बजारलाई विश्लेषण गर्न सकिँदैन । बजार सूचक उकालो लागेको अवस्थामा पनि कारोबार रकम बढेको हुन्छ । त्यसैगरी बजार सूचक घट्ने अवस्थामा पनि कारोबार रकम धेरै हुने गर्छ ।
लगानीकर्ताले बजार घट्न भनेर प्रोफिट बुक गर्न खोजेको अवस्थामा पनि कारोबार रकम उल्लेख्य देखिन्छ । सूचनाको पहुँच भएका लगानीकर्ताले उपयुक्त समयमा विश्लेषण गरी फाइदा लिन सक्छ । तर, साना लगानीकर्ताले ढिलो सूचना पाउने र निर्णय पनि समयमा गर्न सक्दैनन् ।
- नेप्सेको सुधारको चक्र सुरु भएको हो
छोटेलाल रौनियार, (अध्यक्ष, इन्भेष्टर्स फोरम तथा लगानीकर्ता)
अहिले शेयर बजार सकारात्मक देखिएको छ । अहिलेको समयमा लगानीकर्ताले पनि प्रोफिट बुकगर्ने समय पनि हो । त्यसका साथै कमजोर मानिएका शेयर बिक्री गरेर बजारका सबल धितोपत्रमा लगानी सिफ्ट गर्ने समयमा आएको छ । शेयर बजारले ४ वर्षको चक्त पूरा गरेको अवस्था हो । बजार ४ वर्षसम्म घट्दो क्रममा देखिएको भएपनि अब घट्दो क्रमको चक्र पूरा गरी सकारात्मक देखिन थालेको हो ।
बैंक वित्तीय संस्थाको ब्याजदर पनि उच्च दरमा घटेको छ । कोरोना भाइरसका कारण अन्य क्षेत्रलाई नकारात्मक प्रभाव पारेको भएपनि नेपाल मात्र नभई विश्वकै शेयर बजारलाई सकारात्मक प्रभाव पारेको छ । शेयर बजारमा लगानी गर्ने क्रममा बजारको गतिविधिलाई मात्र नहेरेर सूचीकृत कम्पनीको वित्तीय अवस्थालाई पनि हेर्न जरुरी हुन्छ ।
विषम परिस्थितिमा पनि नयाँ उचाइको दौडमा धितोपत्र बजार
- अधिक तरलता र न्यून ब्याजदरले नेप्से नयाँ उचाइतर्फ

सन्तोष मैनाली, (अध्यक्ष, नेपाल स्टक ब्रोकर एसोशीएसन)
वित्तीय बजारमा प्रयाप्त तरलता हुनु र ब्याजदरमा आएको उच्च गिरावटले धितोपत्र बजार नयाँ उचाइतर्फ अग्रसर देखिन्छ ।
बजारमा नयाँ लगानीकर्ताको प्रवेश पनि बढेको हुनाले बजार सकारात्मक भएको हो । त्यसका साथै बजार प्रविधिको प्रयोग बढेको हुनाले पनि सकारात्मक देखिएको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया