नेताहरुको अधिक सक्रियताले आम शेयर लगानीकर्ताको मनोबल खस्कियो

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकले मंसिर ११ गते बिहीबार चार वर्षअघिको १८८१ को उच्च बिन्दु पार गर्दै नयाँ रेकर्ड बनायो । सो दिन नेप्से सूचक १ हजार ८९३.४३ बिन्दुमा पुगेर बन्द भयो । उक्त दिन ७ अर्ब ६१ करोडको कारोबार भएर एकैदिनको उच्च कारोबारको रेकर्ड समेत तोडिएको थियो ।

शेयर बजारले हालसम्मकै नयाँ उचाइ लिएपछि सबैभन्दा पहिला लगानीकर्ताका नेताहरुलाई नै उकुस-मुकुस भयो । बजार आफ्नै गतिमा बढिरहेका बेला उनीहरुले नै सबैभन्दा पहिला वक्तव्यबाजी गरे । लगानीकर्ताका संस्थाहरुले एक कदम अगाडि बढेर विज्ञप्तिबाजी गरेपछि मात्र नियामक निकायहरुको ध्यानाकर्षण भएको देखिन्छ ।

शेयर बजारले नयाँ उचाई हासिल गरेकै भोलिपल्ट लगानीकर्ताका ५ संस्थाहरुले मंसिर १२ गते शुक्रबार एक विज्ञप्ति जारी गरे । लगानीकर्ताका नेताहरुले बजारले नयाँ उचाइ कायम गरे लगत्तै सार्वजनिक गरेको उक्त विज्ञप्तिमा बजारमा स्थायित्व ल्याउने चुनौति रहेको उल्लेख गरेका थिए । साथै उनीहरुले कसैको लह-लहैमा लागेर बिना अध्ययन बजारमा लगानी नगर्न पनि आमलगानीकर्ताहरू आग्रह गरेका थिए ।

उक्त विज्ञप्तिमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, नेपाल पूँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरी र शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकालले हस्ताक्षर गरेका थिए ।

लगानीकर्ताका पाँच संस्थाले जारी गरेको विज्ञप्तिमा नै प्रष्टसँग बजारमा जोखिम बढ्दै गएको उल्लेख गरिएको थियो । उनीहरुले आम लगानिकर्ताहरूलाई आफुले लगानी गर्ने कम्पनीहरूको विगतको इतिहास, सञ्चालकहरूको सामाजिक हैसियत, कम्पनीद्वारा वितरित लाभांश इतिहास र भविष्यमा पाउने प्रतिफल जस्ता आधारभूत कुराहरूको गहन अध्ययन र विश्लेषण गरि उक्त कम्पनीको शेयरमा लगानी गर्न आग्रह थिए ।

विज्ञको सल्लाह बिना कसैको लहलहैमा लागेर बिना अध्ययन लगानी गर्दा आफ्नो मिहिनेत र पसिनाको कमाईमा नोक्सानी पनि हुन सक्नेतर्फ संवेदनशिल भई लगानी गर्नुहुन हामी सम्पुर्ण लगानीकर्ताहरूलाई हार्दिक अनुरोध पनि गर्न चाहान्छौं । लगानीकर्ताका ५ संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

लगानीकर्ताका संस्थाहरुले मंसिर १२ गते शुक्रबार शेयर बजारमा जोखिम बढेको र विश्लेषण गरेर लगानी गर्न आग्रह गरेको विज्ञप्ति प्रकाशित गरेसँगै मंसिर १३ गते शनिबार नोटबजारमा बुलिस ट्रेण्ड’ मा बजार प्रवेश जोखिमपूर्ण, न्यूनीकरणका लागि यस्ता छन् विज्ञका सुझाव भन्ने शिर्षकमा एक समाचार प्रकाशित भयो । उक्त समाचारमा नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीको विचार समेटिएको थियो ।

दुबै विज्ञहरुले अर्थतन्त्र भन्दा फरक गतिमा बुलिस ट्रेण्ड लिएको शेयर बजारमा नयाँ प्रवेशीलाई जोखिम रहेको बताएका थिए । साथै उनीहरुले बजारको स्थायित्वका लागि पूँजी बजारमा इक्वीटी शेयरको बाहुल्यतालाई कम गर्दै अन्य वित्तीय औजारको कारोबारलाई बढवा दिनपर्ने सुझाव दिएका थिए ।

राष्ट्र बैंकको अनुसन्धान विभागले पनि शेयर बजार निरन्तर बढ्दै जाँदा २०७२/०७३ जस्तै बबल पैदा हुने जोखिमजनाएको थियो । जसलाई राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत सुधार्ने जनाएको छ । यद्यपी हालसम्म केन्द्रीय बैंकबाट सो सम्बन्धमा कुनै सर्कुलर आइसकेको छैन। 

स्वंय लगानीकर्ता र विज्ञहरुले बजारमा जोखिम बढेको कुराहरु बताई रहँदा बजारमा करेक्शन आउनको साटो झनै उल्टो गतिमा चलिरह्यो । बजार बढ्ने क्रममा गत मंसिर १४ गते आइतबार नेप्सेमा एकैदिन ९ अर्ब २२ करोड ७३ लाखको कारोबार भयो । उक्त दिन नेप्से सूचक १ हजार ९६८ बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको थियो ।

नेप्से सूचक र कारोबारमा नयाँ कीर्तिमान बनेसँगै सोही दिन अर्थात मंसिर १४ गते आइतबार नै नेप्सेले विज्ञप्ति जारी गरेर लगानीकर्तालाई सचेत हुन आग्रह गरेको थियो । दोस्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताले शेयरको मूल्यमा प्रभाव पार्न सक्ने धेरैभन्दा धेरै सूचनाहरु संकलन तथा विश्लेषण गर्न नेप्सेले सुझाएको थियो ।

खासगरी आफुले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको सम्भावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभुत पक्षको विश्लेषण गर्ने तथा विगतमा उक्त कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम भएको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्न नेप्सेले आग्रह गरेको थियो । यस किसिमको आधारभुत तथा प्राविधिक विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न मद्दत गर्ने व्यहोरा समेत नेप्सेको विज्ञप्तिमा प्रष्टसँग उल्लेख छ ।

लगानीकर्ताका संस्थाहरु, नेप्से तथा विज्ञहरुले समेत बजारमा जोखिम बढ्दै गइरहेको बताइरहँदा बजारको उक्लिने क्रमले अझै निरन्तरता पायो । मंसिर १५ गते सोमबार नेप्से १ हजार ९९७ अंकमा पुगेको थियो भने ८ अर्ब ८६ करोड बराबरको कारोबार भयो ।

सोही दिन नेपाल धितोपत्र बोर्डले विज्ञप्ति निकाल्दै बजारको गतिविधीलाई सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको उल्लेख गरेको थियो । बोर्डले प्रकाशित गरेको विज्ञप्तिमा पनि धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडी नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई आग्रह गरिएको थियो।

बोर्डले लगानीकर्तालाई सचेत हुन आग्रह गर्दै विज्ञप्ति जारी गरेपछि लगानीकर्ताका नेताहरुको आँखा खुल्यो । र, उनीहरुले ब्रोकर कमिशन घटाउनुपर्ने लगायतका मागहरु राखेर बोर्ड घेराउ गर्नेसम्मका कार्यक्रम तय गरे । शेयर बजारमा सामान्य करेक्सन देखिएपछि बजार क्र्यासकै अवस्थामा पुगेको जस्तो गरी लगानीकर्ताका नेताहरुको गतिविधि एकाएक बढ्न थालेपछि अन्य सामान्य लगानीकर्ता सशंकित भएको देखिन्छ।

बजारका नियामक निकायहरुले लगानीकर्ताहरुलाई सचेत गराउँदै विज्ञप्ति निकालेपछि लगानीकर्ताका नेताहरुले उल्टै नियामकलाई आक्षेप समेत लगाउने गरेका छन् । 

लगानीकर्ताका नेताहरुले वक्तव्यबाजी र नियामक संस्थाहरु घेराउका कार्यहरु गरेसँगै सामान्य लगानीकर्ता बजारबाट भाग्न थाले भने ठूला तथा संस्थागत लगानीकर्ताले नाफा बुक गर्ने अवसरमा रुपमा लिए । जसले गर्दा बजारमा एकाएक बिक्रीको चाप बढ्न थाल्यो ।

यता मंसिर १८ गते बिहीबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै वित्तीय स्थायीत्वमा जोखिम आउन नदिन कर्जा नीतिमा पुनरावलोकन गर्ने घोषणा गर्यो । राष्ट्र बैंकले शेयर धितो कर्जा तथा व्यक्तिगत कर्जा पुनरावलोकन गर्ने बताएको छ । तर, यस बारेमा कुनै सर्कुलरहरु भने जारी गरेको छैन् ।

शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बिषयको गहिराईसम्म नपुगी लगानीकर्ताका नेताहरु उचालिएपछि बजारका ठूला खेलाडीहरुलाई बजारबाट निस्कने उपयुत्त बहाना मिल्यो र धमाधम शेयर बिक्री गर्नथाले । नयाँ उचाइमा पुगेको बजारमा मनग्गे नाफा कमाइसकेका ठूला लगानीकर्ताहरु बजारबाट निस्कने मौकाको पर्खाइमा थिए। शेयर कर्जा पुनरावलोकनको विषय उनीहरुलाई बजारबाट बाहिरिने र नाफा सुरक्षित गर्ने सुवर्ण अवसर रह्यो। जसले गर्दा उनीहरुले धमाधम शेयर बिक्री गर्न थाले । लगानीकर्ताका नेताहरुको हल्लीखल्लीले तर्सिएका आमलगानीकर्ताहरुले समेत शेयर बेच्न थालेपछि मंसिर २१ गते आइतबार नेप्सेमा अहिलेसम्मकै उच्च गिरावट आएको छ।

आमलगानीकर्तालाई सचेत गराउने सन्दर्भमा नोटबजारले मंसिर १४ गते आइतबार नै राष्ट्र बैंकले मार्जिन कर्जामा कडाई गर्ने सम्भावना बढ्यो भन्ने शिर्षकमा समाचार प्रकाशित गरेर सुसूचित गराइसकेको थियो । तर, यहि समाचारलाई लिएर सामाञ्जिक संजालमा नोटबजारप्रति नै आक्षेप लगाउन थालियो । यहि कुरा राष्ट्र बैंकले घोषणा गरेपछि भने लगानीकर्ताका नेताहरुलाई निद्रा परेन ।

बजारका गतिविधिहरु विश्लेषण गर्नेक्रममा नोटबजारले गत मंसिर ११ गते विहीबार बैंकहरुको दोहोरो लगानीले शेयर बजार हालसम्मकै उच्च अंकमा भन्ने खबर प्रकाशित गरेको थियो । उक्त खबरमा पनि बैंक तथा वित्तीय संस्थाहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा शेयरमा लगानी बढाएकोप्रति राष्ट्र बैंकको ध्यानकर्षण भएको विषय समावेश रहेको थियो ।

यो खबर पनि लगानीकर्ताका नेताहरुको आलोचनामा पर्यो । शेयर बजारमा देखा परेको बबलको जोखिम र नियामकरुले चाल्नसक्ने सम्भावित कदमहरुका बारेमा नोटबजारले लगानीकर्ताहरुलाई पूर्वसूचीत गराइरहँदा नोटबजारको समाचारको झन् बढी आलोचना गरेको पाइयो । तर, नोटबजारका खबर र सूचनाहरु अहिले सत्य साबित हुन पुगेको छ । नोटबजारको खबरलाई मनन गरी जोखिम न्यूनीकरणमा लागेका लगानीकर्ताले भने लाभ लिएका छन् ।

जब बजारमा करेक्शन आउन थाल्यो तब मात्र लगानीकर्ताका नेताहरुको चहलपहल बढ्न थाल्यो । नोटबजार, नेप्से, धितपत्र बोर्ड र राष्ट्र बैंकले समेत पूर्वसूचित गराउँदा मौन बसेका लगानीकर्ताका संस्थाहरु बजार ओरालो लाग्न थालेपछि मात्र उचालिन थालेका छन् । यसै सन्दर्भमा गत शुक्रबार अर्थात मंसिर १९ गते ब्रोकर कमिशन घटाउन माग गर्दे धितोपत्र बोर्डमा मागपत्र बुझाए भने आइतबार मार्जिन कर्जाको सीमा नघटाउन राष्ट्र बैंकमा माग पेश गरेका छन्।

यसअघि नेप्से सूचक २०७३ साल साउन १२ गते बुधबार १८८१ अंक पुगेपछिको समयमा पनि लगानीकर्ताका नेताहरु विभिन्न आन्दोलनमा रहेका थिए । जब शेयर बजारमा उच्च अंकको उतारचढाब चलिरहेको हुन्छ । त्यति बेला लगानीकर्ताका संस्थाहरु कुनै न कुनै आन्दोलनमा रहेको यर्थाथ छ । २०७३ सालमा पनि नयाँ उचाईमा पुगेको बजार घट्दा लगानीकर्ताहरुको आन्दोलन जारी नै थियो। अहिले पनि उचाईमा पुगेको बजार ओरालो लाग्न थालेपछि लगानीकर्ताका नेताहरु अगुवा बन्दै आन्दोलनमा सुरु गरेका छन् ।

नोट बजार लगायत विभिन्न संचारमाध्यम र नियामक निकायहरुले समयमै सचेत गराउँदा उनीहरुकै विरुद्द उफ्रिने लगानीकर्ताका नेताहरुले शेयर बजारका आमलगानीकर्तामा सदैव भ्रम पैदा गराउने काम गर्दै आएको विभिन्न घटनाहरुले समेत पुष्टि हुँदै आएको छ । लगानीकर्ताका नेताहरुले बजार विकासका दीर्घकालिन मुद्दाभन्दा पनि बजार घटबढको आधारमा क्षणिक मुद्दाहरु बोकेर हिँड्ने गरेको जानकाहरुको विश्लेषण रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।