नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर बजारका लगानीकर्ताहरुलाई आधारभुत तथा प्राविधिक विश्लेषण गरेर मात्र शेयर किनबेचको निर्णय लिन सुझाव दिएको छ ।
नेप्से सूचक इतिहासकै सर्वाधिक उचाईमा पुगेको र एकैदिन उच्च कारोबार भएको दिन मंसिर १४ गते आइतबार नेप्सेले जारी गरेको उक्त विज्ञप्तिमा लगानीकर्तालाई सचेत हुन समेत आग्रह गरेको छ ।
२०७७ मंसिर १४ गते आइतबार समग्र शेयर बजार परिसूचक नेप्से १९६८.२७ विन्दमा पुगेको छ । यसैगरी यसदिन ८० हजार २ सय ७१ कारोबारमा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार रुपैयाँ बराबरका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर किनबेच भएका छन्।
आइतबार ३५ हजार ३ सय १७ लगानीकर्ता शेयर किनबेचमा सहभागी थिए । यस दिन भएको कारोबारमध्ये ८८.५५ प्रतिशत कारोबार अनलाइनमार्फत भएको हो । कारोबार रकम तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हो ।
२०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार भएको छ ।
यस क्रममा दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउने नेप्सेको उद्देश्य अनुरुप प्राविधिक, नीतिगत तथा संस्थागत पूर्वाधारहरुमा सुधार गरिएको नेप्सेको भनाई छ । हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि १ लाख ८९ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन्।
दोस्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताले सेयरको मूल्यमा प्रभाव पार्न सक्ने धेरैभन्दा धेरै सूचनाहरु संकलन तथा विश्लेषण गर्न नेप्सेले सुझाएको छ ।
खासगरी आफुले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको सम्भावना, नाफा नोक्सानको स्थिति लगायतका आधारभुत पक्षको विश्लेषण गर्ने तथा विगतमा उक्त कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम भएको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्र्नपर्ने नेप्सेको भनाई छ ।
यस किसिमको आधारभुत तथा प्राविधिक विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सानी कम गर्न मद्दत गर्ने व्यहोरा नेप्से स्मरण गराउन चाहन्छ । नेप्सेको विज्ञप्तिमा उल्लेख छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया