नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी) ले १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सहयोग गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आज उक्त सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर सम्झौतापत्रमा हस्ताक्षेर गरेका छन् ।
सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रीडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए।
विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिब २२ अर्ब ८१ करोड रुपैयाँ (अमेरिकी डलर १९५ मिलियन बराबर) रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ ।
विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ ।
आयोजनाको कार्यान्वयन नेपाल विद्युत प्राधिकरणले गर्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया