नागरिक स्टक डिलरले ३९ कम्पनीको शेयर किनबेच गर्न पाउने

0
Shares

नागरिक स्टक डिलर कम्पनीले नेप्सेमा सूचीकृत रहेका ३९ कम्पनीको मात्रै शेयर किनबेच गर्न पाउने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले मंगलबार नागरिक स्टक डिलर कम्पनीका लागि कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको हो।

नेप्सेले सार्वजनिक गरेको सूचीमा २६ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक,४ वटा लघुवित्त, नेपाल टेलिकम र तारागाँउ रेजन्सी होटलगरी ३९ कम्पनी छनौट भएका छन् । नेप्सेले धितोपत्र व्यापारी कार्यसंचालन सम्बन्धी कार्यविधि २०७७ अनुसार कम्पनीको सूची तयार पारेको जनाएको छ । नेप्सेको सूचीमा जलविद्युत, बीमा, उत्पादन तथा व्यापार समुहका कम्पनी भने परेका छैनन् ।

कार्यविधि अनुसार नेप्सेले धितोपत्र व्यापारीहरुको लागि कारोबार योग्य कम्पनीहरुको छनोट गरी सार्वजनिक गर्नेछ ।

कार्यविधि अनुसार विगत ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताको संख्या कम्तिमा १० हजार नाघेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको
विगत एक वर्षको कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबारको भएको हुनेपर्ने व्यवस्था छ । यस्तै नेप्सेले, प्रत्येक वर्ष कारोबार योग्य कम्पनीहरुको सूची अद्यायवधिक गर्नेछ ।

शेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गरिएको हो । कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ, चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ । कम्पनीले चुक्तापूँजीको ६ गुणासम्म कर्जा सापटी लिएर दोस्रो बजारमा परिचालन गर्न पाउने व्यवस्था छ । यसका आधारमा ५ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले ३५ अर्बसम्म लगानी पाउने देखिन्छ ।

नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी संचालन गरिएको हो। स्टक डिलरको प्रवेशले पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

स्टक डिलर कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर छ ।

कम्पनीमा कोषको दुई अर्व ५५ करोड रुपैयाँ लगानी छ भने टेलिकमले ५० करोड, पुर्नबीमा कम्पनीको ४५ करोड र एक अर्ब ५० करोड सर्वसाधारणको लगानी छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १० चैत २०७७, मंगलबार  १६ : ५५ बजे