पोर्टफोलियो चेञ्ज गर्दै लगानीकर्ता, फाइनान्स र विकास बैंकतर्फ मोडिए

0
Shares

शेयर बजार मंगलबार हालसम्मकै उच्च अंकमा पुगेर बुधबार केही करेक्शन आएपनि बिहीबार पुनः बजार सम्हालिएको छ । प्रि-ओपनिङ्ग सेसनमा २६ अंक बढेको बिहीबार बजारमा सुरुवातदेखि नै बिक्री चापका कारण बजारमा तीव्र दबाब देखिएपनि अन्यसम्ममा बजार ६ अंकले बढेर बन्द भएको हो ।

अल्पकालीन लगानीकर्ताको बढेको बजारबाट नाफा सुरक्षित गर्ने होडले उच्च बिक्रीचाप आएपनि उति नै मात्रामा खरीद चाप आएपछि बजार अडिएको हो । अल्पकालीन लगानीकर्ता लगानीकर्ता पुरानो स्टकबाट नाफा सुरक्षित गरी पोर्टफोलियो चेञ्ज गर्नतर्फ लागेका छन् । जसले यसअघि बढेको समुहको सूचकमा उच्च गिरावट देखिएको छ यसअघि घटेका सूचक बढेका छन् । 

साताको सुरुवातमा जलविद्युत र होटल समुहको शेयरमा लगानीकर्ताको आकर्षण रहेको थियो । तर साताको अन्त्यमा लगानीकर्ताहरु फाइनान्स र विकास बैंकको शेयरतर्फ मोडिएका छन् । जसका कारण बिहीबार यी दुबै समुहको सूचमा उच्च बढोत्तरी आएका छन् भने शेयरमूल्य उच्च बढ्ने कम्पनीको अग्रपक्तिमा पनि यीनै कम्पनीहरु देखिएका छन् । शेयरमूल्य कम हुँदा मूल्य बढेपनि शीर्ष कारोबार हुने कम्पनीहरुमा भने अन्य कम्पनीहरु अटाएका छन् ।

फाइनान्स र विकास बैंकसँगै बैंकिङ्ग इन्डेक्स पनि सामान्य सकारात्मक रहँदा बजारलाई टेवा मिलेको छ । यसबाहेक अन्य र म्युचुअल फण्डको इन्डेक्स पनि सकारात्मक भएको छ । जलविद्युतको इन्डेक्स सर्वाधिक १.५० प्रतिशतले घट्दा होटल तथा टुरिजम्, ब्यापार, लगानी, उत्पादन, निर्जीवन, जीवन बीमा, लघुवित्तको सूचक ऋणात्मक बनेका छन् । कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ७ वटाको घटेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ६.३७ अंक बढेर २ हजार ७८७.१८ बिन्दुमा बन्द भएको छ । यो दोस्रो ठूलो सूचक हो । मंगलबार २७९३ मा बन्द भएको नेप्से सूचक बुधबार सुरुवातमा बढेपनि अन्तिममा भने १३ अंकले घटेर बन्द भएको थियो ।

यसदिन २१४ कम्पनीको २ करोड १ लाख ३३ हजार ६०२ कित्ता शेयर १ लाख ६ हजार ३९९ वटा संख्यामा कारोबार हुँदा कारोबार रकम ९ अर्ब ३० करोड ५२ लाख २२ हजार रुपैयाँ पुगेको छ । बुधबार ११ अर्ब ९५ करोडको शेयर करोबार भएकोमा बिहीबार कारोबार रकम २ अर्ब ६५ करोडले कारोबार रकम घटेको हो ।

पुनर्बीमा कम्पनीको उच्च कारोबार

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ । बैंक अफ काठमाण्डूको ३४ करोड १ लाख, नेशनल लाइफको २४ करोड ४३ लाख, नेपाल टेलिकमको २४ करोड ११ लाख, र सिभिल बैंकको २२ करोड ६९ लाखको कारोबार भएको छ ।

निफ्रा, मञ्जुश्री फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, सेञ्चुरी कमर्सियल बैंक, र अरुण भ्याली हाइड्रोपावरको १७ करोडदेखि २० करोड रुपैयाँ शेयर खरिदबिक्री भएको छ।

६ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट

बिहीबार ६ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । यस दिन मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, समता घरेलु माइक्रोफाइनान्स, गोर्खाज फाइनान्स, युनाइटेड इदिमार्दी, जानकी फाइनान्स, गुहेश्यरी मर्चेन्ट र र मितिेरी डेभलपमेन्ट बैंकको मूल्य करिब १० प्रतिशतले बढेर कारोबार भएको हो ।

एक्सेल डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको मूल्य पनि साढे ८ प्रतिशतले बढेको छ ।

पाँचथर पावरका लगानीकर्ताले गुमाए

बिहीबार पाँचथर पावर कम्पनीको शेयरमा लगानी गरेकाले सर्वाधिक गुमाएका छन् । कम्पनीको मूल्य ६.५६ प्रतिशत अर्थात २४ प्रतिशतले घटेर ३४२ रुपैयाँमा झरेको छ ।

यस्तै खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावरको ४ प्रतिशत धेरै तथा रुरु जलविद्युत, ओरियन्टल होटल, बिशाल बजार कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, कालीका पावर, आँखुखोला, र नेपाल हाइड्रो डेभलोपर कम्पनीको मूल्य ३ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।