जीवन बीमा कम्पनीको धितोपत्र बजारमा साढे ५४ अर्ब लगानी, कुल लगानीको १६% यस क्षेत्रमा

✍️ विजया बाँस्कोटा
काठमाण्डौं।
२९भाद्र, २०७८, मंगलवार / Sep 14, 2021 17:39:pm

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा धितोपत्र बजारमा ५४ अर्ब ६१ करोड रुपैयाँ लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले गत आवमा बीमा समितिले निर्धारण गरेको लगानी निर्देशकिा बमोजिम विभिन्न क्षेत्रमा ३ खर्ब ४३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ गरेका लगानी गरेकोमा त्यस्तो लगानीको १५.९१ प्रतिशत लगानी धितोपत्र बजारमा रहेको तथ्याङ्क पाइएको हो ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले धितोपत्र बजारसँग सम्बन्धित क्षेत्र सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चर, सरकारी बचतपत्र तथा ऋणपत्र, म्युचुअल फण्ड र नागारिक लगानी कोषमा गरी कुल ५४ अर्ब ६१ करोड ५८ लाख ६० हजार रुपैयाँ लगानी रहेको छ ।

जीवन बीमा कम्पनीहरुले धितोपत्र बजारमा गरेको लगानीमध्ये एलआईसी नेपालले सबैभन्दा धेरै १० अर्ब २३ करोड ८७ लाख ७५ हजार रुपैयाँ लगानी गरेको छ । यो कुल धितोपत्र बजारमा भएको लगानीको १८.७५ प्रतिशत हुन आउँछ । एलआईसीले आव २०७७।७८ मा सूचीकृत कम्पनीको साधारण शेयरमा २ अर्ब ६६ करोड, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा ७ अर्ब ४८ करोड र म्युचुअल फण्ड तथा नागरिक लगानी ८ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ ।

यसैगरी नेशनल लाइफ इन्स्योरेन्सले ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम शेयर बजारमा लगानी गरेको छ । यस्तै, नेपाल लाइफको धितोपत्र बजारमा ६ अर्ब ५४ करोड र एशियन लाइफ इन्स्योरेन्सले ६ अर्ब १९ करोड रुपैयाँ भन्दा धेरै तथा राष्ट्रिय बीमा कम्पनीको ५ अर्ब ५६ करोड लगानी रहेको छ ।

धितोपत्र बजारमा सबैभन्दा कम लगानी गर्ने जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स रहेको छ । कम्पानीले कुल ३८ लाख ५८ हजार रुपैयाँ मात्र लगानी गरेको छ । जसमध्ये सूचीकृत कम्पनीको साधारण शेयरमा ९ लाख १५ हजार, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्रमा २७ लाख ९४ हजार रुपैयाँ र म्युचअल फण्ड तथा नागरिक लगानी कोषमा १ लाख ४९ हजार रहेको छ ।

सूचीकृत पब्लिक सुरक्षित डिबेन्चरमा लगानी केन्द्रित

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुको धितोपत्र बजारमा गरिएको लगानीमध्ये सूचीकृत पब्लिक सुरक्षित डिबेन्चरमा लगानी केन्द्रित रहेको देखिएको छ ।

साधारण शेयरको तुलनामा डिबेञ्चरमा गरिने लगानीबाट तोकिएको प्रतिशतमा ब्याज प्राप्त हुने र लगानी पनि सुरक्षित हुने भएकाले पनि यो क्षेत्रमा लगानी धेरै देखिएको छ ।

गत आवमा जीवन बीमा कम्पनीहरुले धितोपत्र बजारमा कुल ५४ अर्ब ६१ करोड ५८ लाख ६० हजार रुपैयाँ लगानी रहेकोमा यो क्षेत्रमा मात्रै ३९.४६ प्रतिशत अर्थात २१ अर्ब ५४ करोड ९५ लाख ६८ हजार लगानी रहेको छ । यो रकम कुल लगानीको ६.२८ प्रतिशत हो ।

सूचीकृत पब्लिक सुरक्षित डिबेन्चरमा रहेको लगानीको ३२ प्रतिशत अर्थात ६ अर्ब ८९ करोड बराबरको लगानी नेशनल लाइफको रहेको छ भने एशियन लाइफले २१ र राष्ट्रिय बीमा कम्पनीले १८ प्रतिशत धेरै लगानी गरेका छन् ।

सूचीकृत पब्लिक सुरक्षित डिबेन्चरमा कम्पनीहरुले कुल टेक्निकल रिजर्बको बढीमा २० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र १८ अर्ब

जीवन बीमा कम्पनीहरुले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको अग्राधिकार शेयर तथा ऋणपत्र १८ अर्ब २९ करोड ७९ लाख रुपैयाँ लगानी गरेका छन् । जुन धितोपत्र बजारमा गरिएको कुल लगानी रकमको ३३.५० प्रतिशत र कसल लगानीको ३.४८ प्रतिशत हुन आउँछ ।

यस शिर्षकमा कम्पनीहरुले कुल टेक्निकल रिजर्बको बढीमा २० प्रतिशतसम्म लगानी गर्नसक्ने व्यवस्था समितिद्धारा जारी लगानी निर्देशिकाले व्यवस्था गरेको छ ।

सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा १२ अर्ब लगानी

जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा ११ अर्ब ९३ करोड ६८ लाख ६८ रुपैयाँ लगानी गरेका छन् । जुन धितोपत्र बजारमा गरिएको लगानीको २१.८६ र कुल लगानीको ०.०६ प्रतिशत हुन आउँछ ।

उक्त शीर्षकमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३ अर्ब ४२ करोड ५१ लाख ५१ हजार रुपैयाँ लगानी गरेको छ । यो जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा गरिएको लगानीको २८.६९ प्रतिशत हुन आउँछ । नेपाल लाइफपछि एलआईसी र एशियन लाइफको लगानी क्रमशः २ अर्ब ६६ करोड ७० लाख र १ अर्ब ५८ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

यस शिर्षका कम्पनीहरुले कुल टेक्निकल रिजर्भको बढीमा १० प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था छ ।

नेपाल सरकारको बचतपत्र तथा ऋणपत्र

जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा २ अर्ब ४ करोड ५३ लाख रुपैयाँ अर्थात धितोपत्र बजारमा गरिएको लगानीको ३. ७४ प्रतिशत तथा कुल लगानी रकमको ०.६० प्रतिशत लगानी गरेका छन् ।

म्युचुअल फण्ड र नागरिक लगानी कोष

विस २०७८ असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले म्युचुअल फण्ड र नागरिक लगानी कोषको शेयरमा ७८ करोड ६१ लाख रुपैयाँ अर्थात धितोपत्र बजारको लगानीको १.४४ प्रतिशत र कुल लगानीको ०.२३ प्रतिशत रकम लगानी गरेका छन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments