करोडौं आर्थिक भार थपिने भन्दै पुरानो र्‍याम्प बस विस्थापनप्रति वायुसेवा सञ्चालकको विरोध

0
Shares

सरकारले त्रिभुवन विमानस्थलभित्र वायुसेवा सञ्चालक कम्पनीहरुले सञ्चालन गरिरहेका र्‍याप बसलाई विस्थापित गरी विद्युतीय बस सञ्चालनको कार्य अगाडि बढाएपछि वायुसेवा सञ्चालक संघले विरोध जनाएको छ ।

सरकारले हाल सञ्चालनमा रहेका पुराना र्‍याप बसको सट्टामा विद्युतीय बस सञ्चालन गर्ने योजना अनुरुप वायुसेवा कम्पनीहरुको सञ्चालनमा रहेका र्‍याप बसहरुको प्रदुषण नाप जाँच, सवारीको प्रकार र सवारीको सीट संख्या, खरीद वर्ष आदी खुलाएर त्रिभुवन विमानस्थालमा रहेको नागरिक उड्ययन प्राधिकरणको कार्यालयमा विवरण उपलब्ध गराउन पत्राचार गरेसँगै संघले विरोध जनाएको हो ।

संघले कोरोनाका भाइरस संक्रमण कारण विगत ६ महिनामा साढे १७ अर्बभन्दा बढी आम्दानी गुमाएर थला परेका वायुसेवा कम्पनीहरुलाई आर्थिक व्ययभार पर्नेगरी विद्युतीय बस सञ्चालन गर्न लागिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । आयस्रोत नै कम भएको अवस्थामा मौजुदा र्‍याप बसको सट्टा थप करोडौं खर्च गरी विद्युतीय बस प्रतिस्थापन गर्नु न्यायोचित नहुने संघको ठहर छ ।

विद्यमान र्‍याप बसहरु पुर्नस्थापन भएमा हाल सञ्चालनमा रहेका बस प्रयोग बिहिन हुने र वायुसेवा कम्पनीहरुलाई करोडौं नोक्सानी हुने भएकाले तत्काल र्‍याप बस प्रतिस्थापन गर्ने विषयमा संघले गम्भिर असहमति जनाएको हो ।

सरकारी अनुदानमा र्‍याप बस प्रतिस्थापनको स्पष्ट योजना तथा कार्यविधि सरकारबाट आएमा संघ छलफल गर्न तयार रहेको बताइएको छ ।

वायु सेवा सञ्चालकहरुले यात्रुलाई छिटो छरितो सेवा दिन त्रिभुवन विमानस्थलको निषेधित क्षेत्र एयर साइडमा हाल आफ्नै लगानीमा हवाइजहाजसम्म पुर्याउन र हवाइजहाजबाट टर्मिनलसम्म यातायात व्यवस्था विभागले तोकेको प्रदुषण तथा बीमा मापदण्डमा रहेर र्याम्प बस सञ्चालन गर्दै आइरहेका छन् ।

यसअघि विसं २०६० मा पनि वायु सेवा कम्पनीहरुले सञ्चालन गरेको र्‍याप बसको सट्टा सरकारले निजी क्षेत्रबाट बस सञ्चालन गर्ने प्रयास गरेपनि वायुसेवा कम्पनीहरुको कडा प्रतिवादको कारण पछाडि सर्नुपरेको थियो । निजी क्षेत्रबाट सञ्चालन हुने बसले वायुसेवा कम्पनीहरुको उदेश्य र आवश्यकता अनुसारको सेवा दिन नसक्ने भन्दै विरोधपछि ठेकेदारले ल्याएका गाडीहरु वायुसेवा कम्पनीहरुले नै खरीद गरी सञ्चालन गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ पुस २०७७, शुक्रबार  १३ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।