मनकामना स्मार्ट लघुवित्तको आईपीओमा निष्कासनको दोस्रो दिन शुक्रबार बिहानसम्ममा नै सर्वसाधारणबाट माग गरिएको तुलनामा ३६.७२ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले ३ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणबाट माग गरेकोमा १ अर्ब ३३ करोड ४७ लाख रुपैयाँको आवेदन परेको हो । करिब १० लाखले कम्पनीको आइपीओ भरेका छन् ।
लघुवित्तको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार बिहान साढे १० बजे सम्ममा ९ लाख ९६ हजार ३३८ आवेदकबाट १ अर्ब ३३ करोड ४७ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ४७ हजार २२० कित्ता शेयर माग भएको छ ।
पछिल्लो समय साधारण शेयर (आइपीओ) मा लगानीकर्ताको आकर्षण तीव्र रुपमा बढ्दै जान थालेको छ । पछिल्लो निष्काशन बन्द भएको जीवन विकास लघुवित्तमा २० लाख ८७हजार वटा आवेदन परेको तथ्याङ्क छ ।
मनकामना स्मार्टले बिहीबारदेखि साधारण शेयर (आइपीओ) निष्काशन गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।
लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत आईपीओ निष्कासन गरेको हो ।
लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असार २१ गते सोमबार निष्काशन बन्द हुनेछ ।
लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया