अपर तामाकोशीको एक घण्टामै साढे ९ करोडको शेयर कारोबार

0
Shares

यसै सातादेखि पहिलो युनिटबाट ७६ मेगाबाट विद्युत उत्पादनको तयारीमा रहेको अपर तामाकोशी हाइड्रोपावरको आइतबार सर्वाधिक कारोबार भएको छ ।

बजार खुलेको एक घण्टाको अवधिमा कम्पनीको ९ करोड ३९ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ । एक घण्टामै कम्पनीको १ लाख १७ हजार ९३० कित्ता शेयर खरीद बिक्री भएको छ । ८९० वटा कारोबारबाट उक्त शेयर खरीद बिक्री भएको हो ।

यस अवधिमा कम्पनीको शेयर खरीदका लागि १ लाख ३३ हजार कित्ता शेयर मागतर्फ रहँदा बिक्रीतर्फ ७७ हजार कित्ता शेयर रहेको छ । यस अवधिमा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २.७४ प्रतिशत अर्थात २१ रुपैयाँले वृद्धि भएर ७८८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

कम्पनी असार २१ गतेदेखि विद्युत् उत्पादन परीक्षण गर्ने तयारीमा रहेको छ ।

४५६ मेगावाट जडित क्षमता रहेको राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले पनि दीर्घकालमा कम्पनीले राम्रो प्रतिफल पाउने आशमा लगानीकर्ता सो कम्पनीको शेयर खरीद गरिरहेका छन् ।

यसअघि कम्पनीले विद्युत् परीक्षण उत्पादन गर्ने समाचार प्रकाशनमा आएपछि दुई कारोबार दिन शेयर मूल्यमा सकारात्मक सर्किट लागेर त्यसपछि घटेको थियो ।

पहिलो युनिटपछि हरेक साता अर्को युनिटबाट उत्पादन गर्ने तयारी गरेको छ । यसअनुसार यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनामा कूल ६ युनिट रहेका छन् । असोजको पहिलो सातासम्ममा पाँच वटै युनिट सञ्चालनमा आउने बताइएको छ ।

आर्थिक वर्ष २०६७/६८ बाट मुख्य संरचनाहरूको निर्माण सुरु भई ५१ अर्ब लागतमा निमार्ण सक्ने लक्ष्य लिइएको जलविद्युत आयोजना २०७२ सालको भूकम्प, नकाबन्दी, लगायतका घटनाहरूका कारण ढिलाइ हुँदा यसको लागत ८० अर्ब रुपैयाँ पुग्ने प्राधिकरणले बताउँदै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० असार २०७८, आइतबार  १२ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।