नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्तको गरी कुल ६ लाख ८७ हजार ५९५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
स्टक उक्सचेञ्जका अनुसार नेशनल माइक्रोफाइनान्सको चुक्ता पूँजीको २१ प्रतिशत र महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस बुधबार सूचीकृत भएको हो ।
सूचीकृत शेयर बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सकिनेछ । सम्बन्धीत कम्पनीको बोनस शेयर साधारण सभाका लागि बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले पाउनेछन् ।
नेशनलले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशतले हुन आउने ५ लाख ५४ हजार ४९५ दशमलव ०२५ कित्ता बोनस शेयर अनुमोदन गरेको थियो ।
विसं २०७७ चैत्र ५ गते धादिङ्गबेसीमा सम्पन्न भएको संस्थाको सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा र लाभांश प्रयोजनका लागि संस्थाले फागुन १४ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । त्यसैले फागुन १३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।
यसैगरी महिला सहयात्राको पनि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ लाख ३३ हजार १०० कित्ता बोनस शेयर साधारण सभाबाट पारित भएको थियो ।
विसं २०७७ चैत्र १८ गते मकवानपुरमा सम्पन्न भएको संस्थाको आठौँ वार्षिक साधारण सभाले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साधारण सभा र लाभांश प्रयोजनका लागि संस्थाले चैत १ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।
महिला सहयात्रा लघुवित्त नेशनल माइक्रोफाइनान्ससँग एक्वीजिशनको प्रकृयामा रहेको छ । एक्वीजिशन सम्झौतापछि नेप्सेमा कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया