बीमा समितिले इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) नामक एकीकृत सफ्टवेयर सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिलाई उच्च प्राथमकितामा राख्दै लामो समयदेखि एकीकृत सफ्टवेयर निमार्ण कार्यमा जुटेको समितिले आजदेखि औपचारिक रुपमा सफ्टवेयर सञ्चालनमा ल्याएको हो ।
समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले आज उक्त सफ्टवेयरको उद्धघाटन गरेका हुन् । समितिले बीमा कम्पनीबाट प्राप्त हुने सबै खालका प्रतिवेदन अनलाइनबाटै उपलब्ध गराउनका लागि एकिकृत सफ्टवेयर सञ्चालनमा ल्याएको बताएको छ ।
बीमा कम्पनीहरुले समितिमा पठाउनु पर्ने तथ्यांकहरु उपलब्ध गर्ने कार्य कठिनाई रहेको हुँदा समग्र बीमा व्यवसायको तथ्यांक व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राहीका कामलाई समेत समयमै छोटो छरितो रुपमा सम्पन्न गर्नका लागि नयाँ सफ्टवेयर जडान गरिएको समितिको भनाई छ ।
सफ्टवेयर निमार्ण कम्पनी दर्शन टेकले आजै सफ्टवेयर हस्तान्तरण गरेको समितिले जनाएको छ । समितिका अनुसार हरेक बीमा कम्पनीहरुलाई छुट्टाछुट्टै युजर र आइडी दिईएको छ । बीमा कम्पनीहरुले सफ्टवेयरमार्फत काम अघि बढाएको समेत समितिले जानकारी दिएको छ । साउन १५ गतेदेखि कम्पनीहरुले मासिक रुपमा बुझाउने प्रतिवेदन सोही सफ्टवेयरमार्फत पठाउने समितिले जनाएको छ ।
बीमकहरुले त्रैमासिक वित्तीय विवरण, बार्षिक प्रतिवेदन लगाएतका सम्पूर्ण विवरण तथा अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभै उक्त सफ्टवेयरमार्फत अनलाइन माध्यमबाट पठाउन सक्नेछन् ।
उक्त सफ्टवेयरमार्फत बीमालेख तथा बीमाङ्की, अण्डरराइटिङ, वित्तीय लेखापरिक्षण, सूचना प्रविधि सम्बन्धी विवरण, स्थलगत सुरपरिवेक्षण, कृषि तथा लघु बीमा, पुनर्बीमा, अभिकर्ता इजाजत लगायतका सम्पूर्ण विवरणहरु प्राप्त गर्न सक्ने समितिले जनाएको छ ।
कागजी प्रक्रियालाई अन्त्य गर्दै समग्र बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि समितिले २०७६ असारदेखि सफ्टवेयर निमार्णको काम थालेको हो । ६ महिनामै सफ्टवेयर सञ्चालनमा ल्याउने लक्ष्य रहेता पनि सफ्टवेयर निमार्ण कम्पनीले गरेको ढिलाईका कारण लक्ष्य भेट्न नसकेको समितिले बताउँदै आएको थियो ।
अनिश्चितकालीन अवस्था आउँदा वा अन्य प्राकृतिक प्रकोप, बन्द हड्तालले गर्दा कार्य गर्न नसकेमा सफ्टवेयर निमार्ण कम्पनीले सो घटनाको प्रमाणसहित आपसी समझदारीमा प्रथम पटक म्याद थप गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप सफ्टवेयर निमार्ण कम्पनीले समय थप गर्दै आएको थियो ।
यसअघि समितिले २०७८ साल बैशाख २ गतेदेखि उक्त सफ्टवेयर सञ्चालनमा ल्याउने तयारीमा लागे पनि सफल भएको थिएन ।
२०७६ असार १६ गते बीमा समितिले एकीकृत सफ्टवेयर प्रणाली निमार्णका लागि ३५ दिने टेन्डर आह्वान गरेको थियो । सार्वजनिक खरिद नियामावलि, बीमा समिति विनियमावलि र सार्वजनिक खरिद ऐनअनुसार समितिले उक्त सफ्टवेयर निमार्ण प्रक्रिया अघि बढाएको थियो ।
२० लाख रुपैयाँको लागतमा “आईआरएमआइएस” नामक सफ्टवेयर निर्माणको काम दर्शन टेक कम्पनीले पाएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया