उधारो बीमा गर्ने कम्पनीलाई समितिले कारवाही गर्ने

0
Shares

बीमा समितिले उधारो बीमा नगर्न निर्देशन दिएको छ । समितिले आज एक सूचना मार्फत इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई बीमाशुल्क रकम बैंक खातामा प्राप्त गरेपछि मात्रै बीमालेख जारी गर्न निर्देशन दिएको हो ।

समितिले बीमा ऐनमा भएको व्यबस्था बमोजिम बीमा वापतको शुल्क रकम प्राप्त गरेपछि मात्र बीमालेख जारी गर्न निर्देशन दिएको हो । यस निर्देशन विपरित बीमा गर्ने गराउने कार्य भए गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने समितिले जनाएको छ ।

बीमा ऐन २०४९ को दफा २७ मा “कुनै पनि बीमकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने बीमा वापतको शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुदैन । बीमकले जोखिम ग्राहक गरे वापत बीमाशुल्क रकम प्राप्त गरेपछि मात्र बीमा गरेको मानिने छु” भन्ने व्यवस्था रहेको समितिले जानकारी दिएको छ ।

बीमा ऐन बमोजिम बीमा कम्पनीले आफ्नो बैंक खातामा बीमाशुल्क वापतको रकम प्राप्त भएपछि (बैंक स्टेटमेण्टमा रकम प्राप्त भएको देखिएपछि) मात्र बीमालेख जारी गर्न सक्ने व्यवस्था रहेको छ ।

बीमा ऐन विपरित उधारो बीमा गर्ने वा बीमाशुल्क वापतको रकम कम्पनीको बैंक खातामा प्राप्त नभईकन बीमालेख जारी गर्ने कार्य नगर्न नगराउन समितिले निर्देशन दिएको हो ।

यसअघि पनि समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई उधारो बीमालेख जारी नगर्न निर्देशन दिएको थियो । समितिले गत असार महिनामा जीवन तथा निर्जीन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई पत्र काट्दै बीमाशुल्क नलिई उधारो बीमालेख जारी नगर्न निर्देशन दिएको थियो ।

समितिले गरेको स्थलगत निरीक्षणको रिपोर्टमा कम्पनीहरुले बीमा ऐनको निर्देशन विपरित बीमालेख जारी गरेको भेटिएको थियो । बीमा कम्पनीहरुले उधारो बीमा गर्ने गरेको सम्बन्धमा बीमा समितिमा उजुरी परेको तथा गुनासो आएकाले कम्पनीहरुलाई यस्तो निर्देशन दिएको समितिको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ११ श्रावण २०७८, सोमबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।