सर्वोत्तमको शेयर प्रकरणमा ढकाल बचाउमा महासंघ, तथ्य बङ्ग्याएर विज्ञप्ति

0
Shares

सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद प्रकरणमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम मुछिएपछि महासंघको यसको बचाउमा उभिएको छ ।

महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै सर्वोत्तम सिमेन्टको संस्थापक शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा आएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

नेपाल धितोपत्र बोर्डमा महासंघकोतर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मंसिर ३० गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उनको बोर्ड बैठकमा मिति २०७७ माघ ११ गते देखिमात्र उपस्थिति रहेको महासंघले उल्लेख गरेको छ ।

महासंघको विज्ञप्तिमा चन्द्र प्रसाद ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै (ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि) उनका भाई हेमराज ढकालको नाममा २०७७ मंसिर १४ गते शेयर कारोबार भएको दाबी गरिएको छ ।

तर, नेपाल स्टक एक्सचेन्जको ओटीसी मार्केटमा २०७७ माघ २६ गते उक्त शेयरको कारोबार भएको हो । महासंघले जारी गरेको विज्ञप्तिमा चन्द्र प्रसाद ढकाल धितोपत्र बोर्ड बैठकमा मिति २०७७ माघ ११ गते देखि उपस्थिति भएको उल्लेख छ ।

ढकालका भाई हेमराज ढकालले ओटीसी मार्केट मार्फत २०७७ माघ २६ गतेका दिन २ लाख कित्ता शेयर खरिद गरेको देखिन्छ । यस तथ्यबाट महासंघ ढकालको बचाउमा उभिएको प्रष्ट हुन्छ ।

सर्वोत्तमको शेयरको भित्री कारोबार प्रकरण र पाठक विरुद्धको अपराध

त्यसपछि हेमराज ढकालले २०७७ चैत्र १० गते एक लाख हाथवे इन्भेष्टमेन्ट कम्पनीलाई बिक्री गरेका छन् । हाल ढकालको नाममा एक लाख १९ हजार ११७ कित्ता शेयर छ । ओटीसी मार्फत खरिद गरिएको शेयर कारोबारको लगत २०७८ असार ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा कायम भएको देखिन्छ ।

सिमेन्ट २०७८ असारमा १० गते तीनकुने स्थित न्यौपानेटावरमा सम्पन्न विशेष साधारण सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पूँजीको १९.११८ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।