
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा वार्षिक प्रतिशेयर आम्दानी १०१.७८ रुपैयाँ कायम गरेको छ ।
अघिल्लो आवको यसै अवधिमा ३०.२७ रुपैयाँ रहेको लघुवित्तको इपिएस ७१.५१ रुपैयाँले बढेको हो ।
गत आर्थिक वर्ष २०७७/७८ मा लघुवित्तले ३२ करोड ५७ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चार गुणा हो । अघिल्लो आवमा कम्पनीले ७ करोड ९९ लाख १६ हजार नाफा आर्जन गरेको थियो ।
लघुवित्तको चुक्ता पूँजीभन्दा जगेडा कोष १४ करोड बढीले मजबुत देखिएको छ । लघुवित्तको जगेडा कोषमा ५६ करोड २ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवमा २१ करोड ९ लाख थियो । समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष १६५.६१ प्रतिशतले बढेको हो । लघुवित्तको प्रतिशेयर नेटवर्थ २३३.६९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.४० गुणा छ । लघुवित्तको खराब कर्जा अनुपात ०.६६ बिन्दु बढेर २.९४ प्रतिशत पुगेको छ ।
महिला सहयात्रा लघुवित्तलाई गत असार ३० गतेबाट प्राप्ती गरेर एकीकृत कारोबारपछि लघुवित्तको चुक्ता पूँजी ५८.७१ प्रतिशत बढेको छ । नेशनल माइक्रोफाइनानसले महिला सहयात्रालाई १ः०.६८ अनुपातमा प्राप्ति गरेको हो ।
यस्तै समीक्षा अवधिमा लघुवित्तको निक्षेप ६०.२० प्रतिशत, सापटी १०६.२९ प्रतिशत, कर्जा १२२.७१ प्रतिशत, खुद ब्याज आम्दानी १३०.३१ प्रतिशत र सञ्चालन नाफा ३०७.६१ प्रतिशतले बढेको छ ।
असार मसान्तसम्ममा लघुवित्तले २ अर्ब ५९ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक वित्तीय संस्थाबाट ६ अर्ब ३४ करोड ९६ लाख सापटी लिए। ९ अर्ब २६ करोड ६५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट संस्थाले ६३ करोड ४१ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ५१ करोड ७० लाख ५७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
लघुवित्तको कोषको लागत घटेर आम्दानीका सबै स्रोतमा वृद्धि भएको छ भने सम्भावित जोखिम बापतको व्यवस्था रकम घट्दा खुद नाफा उल्लेख्य बढेको हो । समीक्षा अवधिमा लघुवित्तले सम्भावित कर्जा जोखिम बापत ४ करोड ७२ लाख रुपैयाँ व्यवस्था गरेको छ । अघिल्लो आवमा १० करोड २० लाख व्यवस्था गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया