सर्वोत्तमको शेयर प्रकरण: व्यक्तिको सट्टा संस्थालाई पत्र काटेपछि अर्थ समितिले बोलायो अर्थमन्त्री


व्यवस्थापिका संसदको अर्थ समितिले सर्वोत्तम सिमेन्टको शेयर प्रकरणलाई लिएर अर्थमन्त्रालयलाई पनि छलफलमा बोलाएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एकसचेन्ज (नेप्से) का प्रमूख कार्यकारी अधिकृतलाई नभई संस्थालाई स्पष्टीकरण मागेको सम्बन्धमा छलफलका लागि अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएको हो ।

व्यक्तिले गरेको कमजोरीको विषयमा संस्थासँग स्पष्टिकरण माग्नुको कारण खोज्दै समितिले अर्थमन्त्रीलाई पनि छलफलमा डाकेको हो । समितिले अर्थमन्त्री शर्मालाई शुक्रबार बिहान ११ बजे छलफलका लागि बोलाएको छ ।

अर्थसमितिले यस अघि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगाना र नेप्सेका प्रमूख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पनि छलफलमा बोलाई सकेको छ । समितिको छलफलमा ढुङ्गानाले आफ्नी विवाहीता छोरीको नाममा भएको शेयर कारोबारका लागि विद्यमान कानुनले नरोकेको जवाफ दिएका थिए भने साउदले कमजोरी भएको स्वीकार गरेका थिए ।

सेबोन अध्यक्षलाई सासंदको प्रश्न, सर्बोत्तम कसरी नियमन बाहिरको भयो ?

नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार

नेप्सेको ओटिसी बजारमा विभिन्न चरणमा सर्वोत्तम सिमेन्टको शेयर कारोबार भइरहेको छ । यस क्रममा बुक विल्डिङ विधि मार्फत मूल्य निर्धारणका लागि धितोपत्र बोर्डमा आवेदन दिएको सर्वोत्तमको शेयर धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले आफ्नी छोरी रेबिका, बोर्डका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सहोदर भाई एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालका नाममा र नेप्से प्रमुख साउदले श्रीमती शूशीलाको नाममा करोडौंको शेयर किनेका थिए ।

नियामक निकायमा बसेर सर्वजनिक निष्काशनको क्रममा रहेको सर्वोत्तमको शेयर खरिद गरे पछि उनीहरु विवादमा तानिएका थिए ।

उनीहरु विवादमा आएसँगै यो विषय अर्थ समितिमा पुगेको हो । बुक विल्डिङ विधि मार्फत मूल्य निर्धारण गरेर साधारण शेयर निष्काशनको तयारी गरेको कम्पनीको शेयरमा धितोपत्र बोर्ड तथा नेप्सेका पदाधिकारी नै अन्तरिक सूचनाका आधारमा लगानी गरे पछि अर्थमन्त्राले नेप्से र धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको थियो ।

अर्थमन्त्रालले व्यक्तिको कमजोरीलाई संस्थासँग जोडेर स्पष्टिकरण सोधेपछि समितिका सांसदहरुले अर्थमन्त्रालयसँग पनि छलफल आवश्यक रहेको बताएका थिए । व्यक्तिको कमजोरीमा संस्थालाई किन स्पष्टिकरण सोधियो भन्दै समितिका सदस्यहरुले प्रश्न गरेपछि भदौ ४ गते शुक्रबार अर्थ मन्त्रालयसँग पनि छलफल गर्ने निर्णय समितिले गरेको हो ।

समितिले शुक्रबार अर्थ मन्त्रालयसँगको छलफल पछि आवश्कताका आधारमा अध्ययनका लागि उपसमिति गर्न सक्नेछ । कानुमा उल्लेख नभएको विषयलाई टेकेर आन्तरिक सूचनाका आधारमा शेयर खरिद गरेपछि गम्भिर नैतिकताको पश्न उठेको भन्दै अध्ययनकालागि समितिले उपसमिति गठन गर्न आवश्यक रहेको समितिका एक सदस्यले नोटबजारलाई जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।