तेह्रथुम पावरको आइपीओमा पहिलो दिनमै पर्यो दश गुणा धेरै आवेदन

0
Shares

तेह्रथुम पावर कम्पनी लिमिटेडले बुधबारदेखि बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा पहिलोदिनमा नैदश गुणा बढी आवेदन परेको छ ।

कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणबाट ७ करोड ४४ लाख रुपैयाँको शेयर बिक्रीका लागि आवेदन माग गरेकोमा ७४ करोड ३९ लाख ४२ हजार रुपैयाँको शेयर खरीदका लागि आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको तथ्याङ्क अनुसार बुधबार साँझ पाँच बजेसम्ममा ५ लाख ४६ हजार ३६८ जना आवेदनबाट ७४ लाख ३९ हजार ४२० कित्ता शेयर खरिदको आवेदन परेको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

लगानीकर्ताले भदौ १३ गते आइतबार साँझ ५ बजेसम्म आईपीओ भर्न सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेपनि आवेदन गर्दा १० कित्ताको आवेदन नै प्रयाप्त हुनेछ । हाल २१ लख बढीको संख्यामा शेयर माग हुँदा ५ प्रतिशतभन्दा कमआवेदकले मात्र गोलाप्रथाबाट १० कित्ता शेयर पाउने अवस्था छ ।

आईपीओमा मेरो शेयर मोबाइल एप तथा वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको जनाउँदछ ।

हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ बिक्रीपछि ४० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ भाद्र २०७८, बुधबार  १८ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।