जीवन बीमा कम्पनीहरुको कुल लगानीमा मुद्दती निक्षेपको हिस्सा ८१.१८ प्रतिशत

0
Shares

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्ष २०७७/७८ मा लगानीका रहेको रकम ३ खर्ब ४३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीहरुको कुल लगानी रकममा वाणिज्य बैंक, विकास बैंकर फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा गरिएको लगानीको हिस्सा ८१.१८ प्रतिशत छ । लगानीको अन्य क्षेत्रभन्दा सुरक्षित र प्रतिफका हिसाबले पनि तोकिएको ब्याजदर यस क्षेत्रबाट पाइने हुनाले बीमा कम्पनीको लगानी यतै केन्द्रित रहेको देखिएको हो ।

जीवन बीमा कम्पनीहरुले गत आवमा बीमा समितिले निर्धारण गरेको लगानी निर्देशिका बमोजिम विभिन्न क्षेत्रमा ३ खर्ब ४३ अर्ब ३७ करोड ५७ लाख २३ हजार रुपैयाँ गरेका लगानी गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा मात्रै २ खर्ब ७८ अर्ब ७५ करोड ८६ लाख ६ हजार रुपैयाँ रहेको पाइएको छ ।  यो रकम कुल लगानी रकमको ८१.१८ प्रतिशत हो । 

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ‘क’ वर्गको २६ वाणिज्य बैंकमा बैंकको मु्द्धती निक्षेप २ खर्ब ४३ अर्ब ५५ करोड ५२ लाख ६१ हजार र पुर्वाधार बैंकमा २० करोड ५० हजार रुपैयाँ गरी २ खर्ब ४३ अर्ब ७५ करोड ५३ लाख ११ हजार रुपैयाँ रकम मुद्दती निक्षेपमा राखेका हुन् । जुन कुल लगानीको ७१.९९ प्रतिशत हुन आउँछ ।

नेपाल लाइफ इन्स्योरेन्स एक्लैको वाणिज्य बैंकको मुद्दती निक्षेपमा ७३ अर्ब ९७ करोड ९० लाख (३०.३५ प्रतिशत) लगानी गरेको छ ।

यस्तै एलआईसीको ५२ अर्ब ७२ करोड ८३ लाख (२१.६३) र नेशनल लाइफको २८ अर्ब ६६ करोड ९६ लाख (११.७६ प्रतिशत ) र मेट लाइफको २० अर्ब ४१ करोड १० लाख (८.३७ प्रतिशत) रुपैयाँ रहेको छ । राष्ट्रिय बीमा कम्पनीको ६.८५ प्रतिशत, र एशियन लाइफको ६.१७ प्रतिशत लगानी रहेको छ । अन्य जीवन बीमा कम्पनीहरुको बैंकहरुमा राखेको मुद्दती निक्षेप कुल मुद्दती निक्षेप रकमको ३ प्रतिशतभन्दा कम छ ।

यसैगरी जसमध्ये सञ्चालनमा रहेका विकास बैंकहरुमा ‘ख’ वर्गको विकास बैंकको मुद्धती निक्षेपमा ३१ अर्ब ८६ करोड ६२ लाख ९५ हजार रुपैयाँ अर्थात ९.२८ प्रतिशत र ‘ग’ वर्गको फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ३ अर्ब १३ करोड ७० लाख रुपैयाँ अर्थात ०.९१ प्रतिशत लगानी छ ।

समितिले जारी गरेको लगानी निर्देशिकामा ‘क’ वर्गको बैंक तथा नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कूल टेक्निकल रिजर्भको ४० प्रतिशतसम्म, सूचीकृत पब्लिक सुरक्षित डिबेन्चर, विकास बैंकको मुद्दती निक्षेप, कृषि पर्यटन तथा जलस्रोत लगायतका पूर्वाधार, क ख ग वर्षको अग्राधिकार, संस्थापक शेयर तथा ऋणपत्रमा बढीमा २० प्रतिशतसम्म, फाइनान्स कम्पनीको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १० प्रतिशतसम्म र नेपाल सरकारको बचतपत्र तथा ऋणपत्र, घरजग्गा र म्युचुअल फण्ड र नागरिक लगानी कोषको शेयरमा कुल टेक्निकल रिजर्भको पाँच प्रतिशतसम्म लगानी गर्नसक्ने व्यवस्था छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार मुद्दती निक्षेपपछि जीवन बीमाको लगानीको दोस्रो ठूलो लगानीको क्षेत्र धितोपत्र बजार देखिएको छ । यस क्षेत्रमा ५४ अर्ब ६१ करोड ५८ लाख ६० हजार रुपैयाँ लगानी रहेको छ । यो कुल लगानीको १५.९१ प्रतिशत हो ।

जसमध्ये सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा २१ अर्ब ५४ करोड ९५ लाख, ६८ हजार ( ६.२८ प्रतिशत), ‘क’ ‘ख’ ‘ग’ को अग्राधिकार, संस्थापक शेयर तथा ऋणपत्रमा १८ अर्ब २९ करोड ७९ लाख ४८ हजार (५.३३ प्रतिशत), सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा ११ अर्ब ९३ करोड ६८ लाख ६८ हजार(३.४८ प्रतिशत), सरकारी बचतपत्र तथा ऋणपत्रमा २ अर्ब ४ करोड ५३ लाख २५ हजार (०.६० प्रतिशत) र म्युचुअल फण्ड र नागारिक लगानी कोषको शेयरमा ७८ करोड ६१ लाख ५१ हजार (०.२३ प्रतिशत) गरी कुल ५४ अर्ब ६१ करोड ५८ लाख ६० हजार रुपैयाँ रहेको छ ।

यसैगरी यी ठूला बाहेक लगानीका अरु तीन शीर्षकमा कुल लगानीको २.९१ प्रतिशत अर्थात १० अर्ब १२ लाख ५७ हजार रुपैयाँ लगानी रहेको छ । जसअन्तर्गत अन्य लगानीमा ६ अर्ब ५४ करोड ५ लाख ७४ हजार (१.९० प्रतिशत), कृषि पर्यटन तथा जलस्रोत लगायतका पूर्वाधारमा ३ अर्ब ९ करोड ८१ लाख ९९ हजार (०.९० प्रतिशत) र घरजग्गामा ३६ करोड २४ लाख ८४ हजार (०.११) रुपैयाँ लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।