वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप


आइएमई ग्रुपले वाइको प्राइभेट लिमिटेडसँग मिलेर शेयर बजारलाई कब्जा गर्न खोजेको छ । ग्रुपले धितोपत्र बजारको अनलाइन कारोबार प्रणाली (नट्स) को भेण्डर कम्पनी वाइकोलाई साथमा लिएर शेयर बजारको कारोबार प्रणालीमा नै पहुँच पुर्याउने प्रयास गरेको तथ्य बाहिर आएको हो ।

आइएमई ग्रुप र वाइको प्राइभेट कम्पनीको संयुक्त लगानीमा वाइको सोलुसन प्रा.लि. स्थापना गरेका हुन । आइएमई ग्रुपको बहुमत शेयर हिस्सा रहेको वाइको सोलुसनमा वाइको प्राइभेटको करिब १७ प्रतिशत लगानी रहेको छ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा रहँदै गर्दा बनाइएको यो योजना अहिले कार्यान्वयनको चरणमा छ । हाल वाइको सोलुसनले पानीपोखरी स्थित कार्यालय मार्फत चन्द्र ढकालका सहोदर भाई हेमराज ढकालको नेतृत्वमा काम सुरु गरिसकेको छ ।

सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा ढकाल पनि संलग्न भएको खुलेपछि उनले धितोपत्र बोर्डको संचालक सदस्यबाट राजिनामा दिएका थिए । उनी धितोपत्र बोर्डको सञ्चालक हुँदा नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले टे«ड म्यानेजमेन्ट सिस्टम (टिएमएस) बनाउने तथा सञ्चालन गर्ने कार्यविधि स्वीकृतीका लागि धितोपत्र बोर्डमा पठाएको थियो । तर, धितोपत्र बोर्डले उक्त कार्यविधिलाई कार्यविधि नभई विनियमावलीमा समावेश गर्न भनेपछि नेप्सेले कारोबार सञ्चालन विनियमावलीमा उक्त व्यवस्था थप गरेर बोर्डमा पठाएको नेप्सेका एक अधिकारीले बताए ।

“नेप्सेले बनाएको कार्यविधिमा उल्लेख भएको मापदण्डमा पनि धितोपत्र बोर्डले प्रश्न गरेको थियो,” ती अधिकारीले भने, “नेप्सेले बनाएको कार्यविधि कुनै एक समुह वा कम्पनीको एकाधिकार नहुने गरी बनाएको अवस्थामा बोर्डले यस्तो किन गरेको भनेर प्रश्न गर्दै विनियमावलीमा समावेश गरेर ल्याउन भनेको हो ।” सो विनियमावली बोर्डले स्वीकृत गरेपछि ईच्छुक कम्पनीहरुले धितोपत्र दलाल कम्पनीका लागि आवश्यक टिएमएस बनाउन सक्छन् । धितोपत्र दलाल कम्पनीले प्रयोग गर्दै आएको हालको टिएमएस वाइको प्राइभेटले उपलब्ध गराएको सिस्टम हो ।

नेप्सेको अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी भएकाले धितोपत्र दलालहरुले पनि वाइको प्रालिको टिएमएस चलाउँदै आएका छन् । तर, वाइकोले आइएमई ग्रुपको बाहुल्यता रहने गरी नयाँ कम्पनी स्थापना गरेर वाइको सोलुसन प्रालि मार्फत सेवा दिन थालेपछि धितोपत्र दलालहरुले पनि कुनै एउटा व्यवसायिक समुहको हातमा शेयर बजार सिमित हुने भयो भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
वाइको प्रालिले नेप्से अनलाइन कारोबार प्रणालीको भेण्डर तथा बार्षिक मर्मत सम्भार सम्झौताको काम गर्दै आएको छ ।

धितोपत्र बजारको आन्तरिक तथ्याङकमा पहुँच भएको वाइको प्रालिले कुनै एक व्यवसायिक समुहलाई संलग्न गराएर यहि बजारमा सोही प्रकृतिको काम गर्न अर्को कम्पनी खडा गरेको देखिन्छ । चन्द्र ढकाल र वाइको प्रालिको साझेदार कम्पनी वाइको सोलुसनले धितोपत्र दलाल कम्पनीका लागि टिएमएस बनाउने योजना अनुसार काम गरिरहेको छ ।

यस अघि वाइको प्रालिले गर्दै आएको धितोपत्र दलालहरुको टिएमएस सबै काम समेत वाइको सोलुसनले गर्न थालिसकेको छ । धितोपत्र दलाल कम्पनीहरुसँगको सल्लाह बिना नै वाइको सोलुसन मार्फत काम हुन थालेपछि धितोपत्र दलाल कम्पनीहरुले पनि वाइको प्रालिलाई प्रश्न गर्न थालेका छन् ।

चन्द्र ढकालको सहभागितामा खुलेको वाइको सोलुसन प्रालिमा वाइको प्रालि र इ–शेयर सोलुसन प्रालिको लगानी छ । वाइको सोलुसनमा वाइको प्रालिको १६.६७ प्रतिशत र इ–शेयर सोलुसन प्रालिको ८३.३३ प्रतिशत शेयर हिस्सा छ ।

वाइको सोलुसनमा १६.६७ प्रतिशत हिस्सेदारी वाइको प्रालिमा दिपेश प्रधानको २० प्रतिशत र शौरभ शर्माको ८० प्रतिशत लगानी छ । प्रधान वाइको प्राइभेटका प्रमूख कार्यकारी अधिकृत पनि हुन् ।

त्यसैगरी वाइको सोलुसनमा ८३.३३ प्रतिशत शेयर रहेको इ–सेयर सोलुसनमा चन्द् प्रसाद ढकालको स्विफ्ट टेक्नोलोजीको ५३ प्रतिशत, देव प्रकास गुप्ताको १३.२५ प्रतिशत, चन्द्र ढकालका भाई हेमराज ढकालको १२.९१ प्रतिशत र वाइकोका लगानीकर्ता दिपेश प्रधानको १३.२५ प्रतिशत शेयर छ भने कामधेनु इन्भेष्टमेन्ट कम्पनीको ७.६२ प्रतिशत लगानी छ ।

स्विफ्ट टेक्नोलोजीमा चन्द्र ढकाल र उनका भाई हेमराज ढकालको नाममा ९८ प्रतिशत शेयर हिस्सा रहेको छ । यसरी विभिन्न कम्पनी र व्यक्तिगत रुपमा ढकालले ग्रुप मार्फत बजारमा आफ्नो उपस्थिती बलियो बनाउने योजनालाई मूर्त रुप दिन खोजेका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।