चितवन । भरतपुर महानगरपालिकाले मागमा आधारित सीपमूलक तालिममा सहभागी ७ सय ७९ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।
बिहीबार एक कार्यक्रमका बीच महानगरले विभिन्न सीप क्षेत्रमा तालिम लिएका प्रशिक्षार्थीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरेको हो । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिष्टा (कफी तथा पेय पदार्थ तयार गर्ने), ड्राइभिङ, र एडभान्स ब्युटीपार्लर तालिम सञ्चालन गरेको थियो । तालिम समापन समारोहमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र वितरण गरेका हुन् ।
महानगर प्रमुख दाहालले सीप विकासमार्फत रोजगारी सिर्जना गर्दै आत्मनिर्भर नगर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् । उनले भरतपुर महानगर भविष्यमा पनि यस्ता तालिमलाई प्राथमिकतामा राख्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरीन् । प्रमुख दाहालले तालिममा लिएको ज्ञान सीपमार्फत उद्योग, व्यवसाय तथा रोजगार बन्न प्रशिक्षार्थीलाई आग्रह पनि गरीन् । दक्ष जनशक्तिको माग स्वदेश तथा विदेशमा रहेकाले सीप सिकेपछि राम्रो आम्दानी गर्न सकिने उनको भनाई थियो ।
यस्तै उपप्रमुख चित्रसेन अधिकारीले महानगरले युवाहरूलाई लक्ष्ति गरी वर्षेनी यस्ता तालिमहरू प्रदान गर्दै आएको जानकारी दिए। चालु आर्थिक वर्षको लागि सीप विकास कार्यक्रममा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको र सोही बजेटबाट १७ सय जनालाई तालिम दिइएको उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने जानकारी दिए।
कार्यक्रममा प्रशिक्षार्थीहरूले प्राप्त तालिमले आफूहरूलाई व्यवसायिक जीवनमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरे । तालिममा सहभागीहरू मध्ये अधिकांश युवा, महिला तथा बेरोजगार व्यक्तिहरू रहेका थिए ।












प्रतिक्रिया