वाइकोले आईएमई समुहसँग सहकार्य गर्दा नेप्सेको तथ्याङ्कको गोपनियता जोखिममा


नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्याङ्कको गोपनियतामा जोखिम बढेको छ । धितोपत्र बजारमा प्रयोग भएका प्रविधिको साँचो हातमा लिएको वाइको प्रालिले आइएमई समुहसँग सहकार्य गरेपछि धितोपत्र कारोबारको तथ्याङ्कको गोपनियतामा जोखिम बढेको हो ।

वाइको प्रालि नेप्सेको अनलाइन कारोबार प्रणाली (नट्स) को भेण्डर कम्पनी हो । वाइकोले नै नेप्सेको अनलाइन कारोबार प्रणालीको मर्मत तथा सम्भार (एएमसी) को काम गर्छ । त्यति मात्र नभई हाल नेप्सेले ५० वटै धितोपत्र दलाल कम्पनीलाई उपलब्ध गराएको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) को पनि भेण्डर कम्पनी पनि वाइको प्रालि नै हो । त्यसका साथै वाइकोले नै टीएमएसको पनि मर्मत तथा सम्भारको काम गर्दै आएको छ ।

हालको वाइको प्रालिका लगानीकर्ता तथा प्रमुख कार्यकारी अधिकृत दिपेश प्रधान हुन् । उनले वाइको मार्फत मात्र नभई इ-शेयर प्रालि मार्फत पनि नयाँ कम्पनी वाइको सोलुसनमा लगानी गरेका छन् । एकै व्यक्तिले धितोपत्र बजारका अधिकांश प्रविधमा पहुँच राख्दा स्वार्थ बाझिने हुन्छ । प्रधानको नियन्त्रणमा रहेको धितोपत्र बजारको अधिकांश प्रविधि वाइको सोलुसन मार्फत आइएमई ग्रुपको पहुँचमा पुग्दैन भन्ने निश्चित गर्ने अवस्था हुँदैन ।

वाइको प्रालिले आइएमई समुहको बहुमत हिस्सा रहने गरी वाइको सोलुसन प्रालि स्थापना गरेर काम सुरु गरिसकेको छ । धितोपत्र बजारको प्रविधिको सन्दर्भमा एकाधिकार जमाएको कम्पनीले व्यवसायिक समुहसँग सहकार्य गरेँंगै धितोपत्र कारोबार सम्बन्धी संवेदनशील तथ्याङकहरु बाहिर आउन थालेको धितोपत्र दलालहरु बताउँछन् । “धितोपत्र बजारमै सक्रिय व्यवसायिक समुहलाई साथमा लिएर वाइको प्रालिले शेयर बजारसँग सम्बन्धित प्रविधि कै काम गर्न थालेको छ”, ती दलालले भने, “वाइकोका कारण धितोपत्र बजारको सम्पूर्ण गोप्य तथ्याङक निश्चित व्यवसायिक समुहको हातमा पुग्दा बजारलाई असर पारिरहेको छ ।”

… वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप …

वाइको प्रालिले हाल गर्दै आएको टीएमएसको कामलाई आइएमई समुहको लगानी रहेको वाइको सोलुसन प्राइभेट लिमिटेडमा सारेको छ । नेप्सेको अनलाइन कारोबार प्रणालीको ब्रोकरतर्फको टीएमएसको एएमसीको काम वाइको प्रालिले गर्दै आएकोमा पछिल्ला दिनहरुमा वाइको सोलुसन मार्फत गर्न थालेको हो । उक्त एएमसीको काम वाइको प्रालिले वाइको सोलुसनलाई दिएको सन्दर्भमा नेप्से तथा धितोपत्र दलाल कसैलाई पनि औपचारिक जानकारी गराइएको छैन ।

ब्रोकरहरुले नेप्सेको टीएमएस प्रयोग गरेको हुनाले सम्झौताको जरुरी नठानेको अर्का धितोपत्र दलालले बताए । “नेप्सेको टीएमएसको एएमसी गर्ने वाइको प्रालि भएकाले सम्झौता नेप्सेसँग गर्ने वा वाइको प्रालिसँग गर्ने भन्ने अन्योलताले सम्झौता नभएको हो,” ती धितोपत्र दलाले भने,“यही अन्यौलताका बिच कुनै जानकारी नै नदिई वाइको प्रालिबाट आउने गरेको बिजक वाइको सोलुसन प्रालिबाट आउन थालेको छ ।”

वाइको प्रालिले अर्को कम्पनी मार्फत टीएमएसको एएमसीको काम गरेको र दलाल व्यवसायीलाई बिजक जारी गरेको सन्दर्भमा नेप्सेलाई खासै सरोकारको विषय नभएको नेप्सेका एक अधिकारीले बताए । “पछिल्लो समयमा धितोपत्र कारोबार सम्बन्धी गोप्य तथ्याङ्कहरु बाहिरिएको कुरा आएको छ,” ती अधिकारीले भने,“त्यो विषयमा वाइकोका सम्बन्धित कर्मचारीसँग पनि सोधपुछ भएको छ ।” टीएमएसको सन्दर्भमा हल्ला फिजाउन पनि प्रायोजित रुपमा तथ्याङ्कको दुरुपयोग गरिएको पनि हुनसक्ने ती अधिकारीले शंका गरे ।

अहिले नेप्सेले करारमा वाइको प्रालिसँग काम गरिरहेको हो । प्रणालीमा रहेका तथ्याङकको सन्दर्भमा तथ्याङ्क तथा सूचनाहरु चुहावट नगर्ने तथा दुरुपयोग नगर्ने भन्ने सम्झौता नै भएको नेप्सेका अधिकारीको भनाई छ । त्यसका साथै वाइको प्रालिले कुनै पनि गलत अभ्यास गरेको भए पनि त्यसको जानकारी सिस्टममा आउने उनले बताए । “वाइको प्रालि, यसका लगानीकर्ता तथा कर्मचारी र स्वार्थ समुहको मिलेमतो भएको खण्डमा प्रणालीमा उपलब्ध सूचनाको दुरुपयोग हुन सक्छ,” नेप्सेका ती अधिकारीले भने, “कानुन विपरित तथ्याङ्क तथा सूचनाको दुरुपयोग गरेको खण्डमा वाइको प्रालिलाई नै समस्या हुने हो ।”

हाल नेप्से आफैँले धितोपत्र दलाल कम्पनीलाई टीएमएस उपलब्ध गराउँदै आएको छ । टीएमएसको सन्दर्भमा धितोपत्र दलाल कम्पनी आफैँले पनि बनाउन सक्ने व्यवस्था छ । त्यसका लागि धितोपत्र दलाल कम्पनीले बनाउन लागेको वा ल्याउन लागेको टीएमएस प्रणाली भेण्डर वा डेभलपरले नेप्सेले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्छ । त्यसपछि उपयुक्त देखेको खण्डमा नेप्सेले अनुमति दिने प्रावधान छ ।

पछिल्लो समयमा धितोपत्र दलाल कम्पनीलाई कारोबार प्रणाली बनाउन नेप्सेले नट्ससँग सम्बन्ध स्थापीत हुने एपीआई दिने तयारी गरेको थियो । तर, नेपाल धितोपत्र बोर्डदेखि नै यो सम्बन्धमा चलखेल सुरु भएपछि समस्या झनै बढेर गएको हो । सकारात्मक सोच सहित काम गर्न खोजेको भए राम्रो हुने भएपनि यसको सुरुवाती प्रक्रिया नै शंकास्पद देखिएको ती अधिकारीको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।