कोरोना बीमा भुक्तानीको लागि अर्थमन्त्रीले गरे बीमा समितिका अध्यक्षसँग छलफल

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा छलफल थालेका छन् । बुधबार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् ।

सरकारले  केही समयअघि कोरोना बीमाको भुक्तानी हुन नसकेको दाबी रकमका सम्बन्धमा ठोस निर्णय नगर्ने संकेत गरेको थियो । तर बुधबार अर्थमन्त्री शर्माले आफैँले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई बोलाएर कोरोना बीमाको भुक्तानीको विषयमा छलफल गरेका हुन् । भदौ २७ गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले कोरोना बीमाको विषय गम्भिर भएकाले अहिले नै भुक्तानीका विषयमा बोल्न नसक्ने बताएका थिए ।

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका हुन् । विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

कोरोना बीमा मापदण्ड, २०७७ ले गरेको व्यवस्था अनुसार बीमक कम्पनी, पुनर्बीमा कम्पनी, तथा बीमा समितिले भुक्तान गर्ने भनेको ३ अर्ब ५० करोड रुपैंयाको दायित्व भुक्तानी भइसकेको छ । तर सरकारतर्फको दायित्व भुक्तानी नहुँदा कोरोना बीमा गर्ने अधिकांशले दाबी वापतको भुक्तानी पाउन सकिरहेका छैनन् ।

नियमनकारी निकाय बीमा समितिको तथ्यांक अनुसार अहिलेसम्म एक लाख ५० हजार जनाभन्दा बढीले कोरोना बीमा वापत पाउनुपर्ने भुक्तानी पाएका छैनन् । शुरुका केही बीमितलाई भुक्तानी पाएपनि गत फागुनदेखि बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी दिएका छैनन् ।

निर्जीवन बीमा कम्पनीहरूले सरकारले रकम निकासा नगरेसम्म भुक्तानी नहुने स्पष्ट पारेका छन् । सरकारबाट रकम निकासा नभएपछि अहिले कोरोना बीमाको भुक्तानी पूर्ण रूपमा रोकिएको हो ।

१९ निर्जीवन बीमा कम्पनीहरू र पुर्नीमा कम्पनी गरी २० वटा बीमा कम्पनीले संयुक्त रूपमा ‘पुल’ मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए । कोरोना संक्रमित भएर बीमा दावी गरेकाहरूले लामो समयसम्म भुक्तानी पाउन सकेका छैनन्, अझै कति समय लाग्ने हो टुंगो छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ आश्विन २०७८, बुधबार  १७ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।