
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठकले संसद् बैठक निर्वाध र मर्यादितरूपमा अगाडि बढाउन प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सो दलका नेता केपी शर्मा ओलीलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी रहेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सभामुखको केही कार्यप्रति असन्तुष्टि जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएपछि यस गतिरोधको अन्त्यका लागि प्रधानमन्त्रीले अगुवाइ गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको आग्रहका आधारमा प्रधानमन्त्रीले आजको बैठक आह्वान गरेका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले नै अनुपस्थित हुनुले सो दल संवाद र वार्ताबाट पन्छिन खोजेको हो कि भन्ने आशङ्का जन्माएको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई बताए ।
बैठकमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई वार्ता, संवाद र सहमतिका लागि पहल गर्न आग्रह गर्नुभएको मन्त्री कार्कीले जानकारी दिए ।
प्रतिनिधिसभामा ३० र राष्ट्रिसभामा २७ वटा विधेयक विचाराधीन रहेको अवस्थामा संसद् अवरुद्ध गर्नु उपयुक्त नरहेको बताउँदै प्रवक्ता कार्कीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयलाई निकास दिन संसद्को बैठक अवरुद्ध नगर्न आग्रह गरेका छन् ।
बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ र नेता महेन्द्र राय यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु सहभागी रहेका प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया