छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड (CHL) ले पुनः थप ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हाल चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारीगर्न अनुमति मागेको कम्पनीले उक्त हकप्रद पश्चात कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।
कम्पनीको असोज १८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले निर्माणाधीन माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजनाको लागत बढेकाले थप हकप्रद बिक्री गरेर बैंकहरुको ऋण तिर्ने निर्णय गरेको हो ।
बैठकले कम्पनीले हाल अनुमति मागेको ३० प्रतिशत हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको ४० प्रतिशतले हुन आउने १५ करोड ४७ लाख ९१ ह्जार रुपैयाँ बरारको १५ लाख ४७ हजार ९१० कित्ता हकप्रद बिक्रीका लागि विद्युत नियमन आयोगसँग स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले भएको बन्दाबन्दी तथा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप लगायतका कारणहरुले चार मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना आयोजनको लागत बढेको बताइएको छ । आयोजना निर्माण सम्पन्न गर्नको लागि आवश्यक रकम दीर्घकालिन ऋण यसै आयोजनामा लगानी गरिरहेका बैंक अफ काठमाण्डू लिमिटेड र कुमारी बैंक लिमिटेड समक्ष माग गर्ने र उक्त दीर्घकालिन ऋण प्रस्तावित हकप्रद शेयर जारी गरी भूक्तानी गर्ने गरी कम्पनीको तत्काल चुक्ता पूँजीको ४० प्रतिशत (३० प्रतिशत हकप्रद शेयर वितरण पश्चात) हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोग समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।
छ्याङ्दी हाइड्रोपावरले यसअघि १० बराबर ३ अनुपातमा प्रतिकित्ता १०० अंकित दरमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ मूल्य बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति माग्दै वैशाख १५ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।
दुबै हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी ५४ करोड १७ लाख ६८ हजार ५०० रूपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया