सहकारीले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन्ः अर्थमन्त्री

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा देशको अर्थतन्त्रलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिएका छन् ।

स्युचाटार बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिकोत्सव तथा साधारण सभामा उनले सरकारले समन्वयकारी भूमिकामा रहेर व्यवस्थापन गर्ने भएकाले समुदायलाई उत्पादनसँग जोड्नुपर्ने उनको भनाइ छ ।

“समुदायलाई नै जोडेर विकास र प्रगतिको बाटोमा जानुपर्छ । सरकार, समुदाय र निजी क्षेत्र यी तीन वटा कुरालाई जोडेर जाने हो । यसमा समुदाय मुख्य हो”, उनले भने । हरेक वडामा सहकारी संस्थाले उत्पादन गरोस् र सरकारका कार्यक्रमलाई सहयोग गरेर रोजगारी सिर्जना गरोस् भन्ने आफूहरुको चाहना रहेको अर्थमन्त्रीको भनाई थियो ।

अर्थमन्त्रीले सहकारीले अधिकांश लगानी अनुत्पादक क्षेत्रमा लगाएको तथ्याङ्कबाट देखिएको भन्दै त्यो लगानी अब उत्पादनमूलक क्षेत्रमा लगाएर समग्र मुलुकको विकास गर्नुपर्ने स्पष्ट पारे । उत्पादन क्षेत्रमा लगानी गरे सहकारी संस्थाको मात्र उन्नति नभएर समग्र समुदाय र राष्ट्रकै उन्नति हुने उनको भनाइ थियो ।
सहकारीले कम्पनी खोलेर पूँजी लगानी गर्न पाउने नीति पारित भएको जानकारी दिँदै उनले ती संस्थाले लगानी गर्न नपाउने स्थिति भएको भन्ने कुराका आधारमा त्यस्तो व्यवस्था गरिएको उल्लेख गरे ।

जनतासँग भएको पैसा सहकारीले सङ्कलन गरेर लगानी गर्न पाउने भन्दै उनले यसलाई छिटो कार्यान्वयनको बाटोमा लैजानुपर्छ भन्नेमा आफू रहेको बताए । त्यसका लागि कार्यविधि तयार भइरहेको जानकारी दिँदै उनले त्यसबाट अर्बौं बराबरको लगानी उत्पादनमूलक क्षेत्रमा जाने जानकारी दिए ।

उनले भने, “अहिले कतिपय सहकारीले अर्बौं पैसा जम्मा गरेर हिनामिना गरेको कुरा आइरहेका छन् । गाउँका आमाबुवाको भत्ताको पैसा, अलिअलि जोडेको पैसा लिएर कतिपयले बदमासी गरेको कुरा आएको छ । तर त्यस्तो गलत क्रियाकलापलाई नियमन गर्ने निकाय खासगरी यहाँ रहेनछ ।”

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ आश्विन २०७८, बिहिबार  २० : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।