प्रधानमन्त्री भएको ८८ दिनपछि शेरबहादुर देउवाले दिए मन्त्रिपरिषद्लाई पूर्णता

0
Shares

शेरबहादुर देउवाले प्रधानमन्त्री भएको ८८ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

गत असार २९ गते गठबन्धनबाट प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले करिब तीन महिनापछि शुक्रबार तेस्रो पटक मन्त्रिमण्डले विस्तार गर्दै पूर्णता दिएका हुन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । यससँगै देउवा सरकारको मन्त्रिमण्डले २५ सदस्यीय भएको छ ।

यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री बनाएका देउवाले नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएका थिए । अरू मन्त्रालय करिब तीन महिना देउवाले आफैँसँग राखेका थिए ।

शुक्रबार भएको मन्त्रिमण्डल विस्तारमा बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् ।

त्यसैगरी विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, जनार्दन शर्मा अर्थ, मीनेन्द्र प्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी मन्त्री खानेपानी, नारायण खड्का परराष्ट्र, रेनुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेम बहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दीलेन्द्रप्रसाद बडू कानुन— न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि र महेन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त भएका छन् ।

यस्तै उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहाय प्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ भने भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै बोधमाया कुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरिएको छ ।

आज सपथ लिने

नवनियुक्त मन्त्रीहरूको सपथ आजै साँझ गरिने भएको छ ।

देउवाले सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर मन्त्री बनेकाहरुको आजै सपथ हुने भएको छ ।

देउवाले शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिँदा कार्यविभाजन र वरियता समेत छुट्याएका छन् । गठबन्धनको देउवा सरकारमा प्रधानमन्त्री देउवापछि गृहमन्त्री बालकृष्ण खाँण दोस्रो र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो नम्बरमा छन् । त्यस्तै माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा गएकी पम्फा भुसाल चौथो नम्बरमा रहेकी छन् । उनी उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री हुन् ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ पाँचौ नम्बरमा रहेका छन् । उनले जनता समाजवादीको तर्फबाट सरकारमा नेतृत्व गरेका छन् । छैठौं नम्बरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारको नेतृत्व गर्दै विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । अर्थमन्त्री जनार्दन शर्मा बरियताको सात नम्बरमा परेका छन् । कांग्रेसका तर्फबाट रक्षमन्त्री बनेका मीनेन्द्र रिजाल आठौं, खानेपानीमन्त्री उमाकान्त चौधरी नवौं र परराष्टमन्त्री नारायण खड्दा दशौं स्थानमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ आश्विन २०७८, शुक्रबार  १७ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।