खाद्यले बिक्री गर्ने खसीबोकाको मूल्य नै प्रतिकिलो ९० रुपैयाँले बढ्यो

0
Shares

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत वर्षको तुलनामा यस वर्ष खसीबोकाको मूल्य बढेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकेजीमा ९० रुपैयाँसम्म बढेको छ । कम्पनीको काठमाडौंमा बिक्री वितरण गर्न दाङ र हेटौंडामा खसीबोका खरिद गत वर्षभन्दा महँगो परेको जनाएको छ ।

सोही अनुसार यो वर्ष जिउँदो खसीबोकाको मासुको मूल्य बढेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै गत वर्षको तुलनामा यस वर्ष जिउँदो खसीबोकाको मूल्य ९० रुपैयाँ माथि मूल्य तोकेको हो ।

कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले यो वर्ष खाद्यले जिउँदो खसीको मासुको मूल्य प्रतिकेजी ६५० रुपैयाँ तोकेको हो । कम्पनीले आज सार्वजनिक गरेको मूल्य भन्दा १० रुपैयाँ कम अर्थात दश रुपैयाँ सहुलियत दिएर प्रतिकोलो ६४० रुपैयाँमा जिउँदो खसीको मासु बिक्री गर्ने उनको भनाई छ ।

खाद्यले गत वर्ष जिउँदो खसीबोकाको मासु प्रतितोलो ५६० रुपैयाँ तोकेको थियो । यसअनुसार प्रतिकिलो दश रुपैयाँ सहुलियत दिएर ५५० रुपैयाँमा बिक्री गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष प्रतिकेजी ९० रुपैयाँले खसीको मासु महङ्गो भएको हो ।

च्याङ्ग्रा ल्याउने निर्णयबाट खाद्य व्यापार कम्पनी पछि हट्दा उपभोक्तालाई मूल्यवृद्धिको मार

कम्पनीका अनुसार दाङमा नै २५ केजीदेखि माथिका खसीको मूल्य प्रतिकिलो ५६५ रुपैयाँर २० देखि २५ केजीका खसी प्रतिकेजी ५५०, बोकाको ५४५ रुपैयाँ निर्धारण गरिएको छ । सो स्थानबाट काठमाण्डौं ल्याउँदा थप महङ्गो भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा बिक्रीका लागि काठमाण्डौं ल्याउने २ हजार खसीबोकामध्ये शुक्रबार बेलुकासम्म हेटौँडा र दाङका किसानबाट ७३० वटा खसीबोका उपत्यका ल्याइसकेको छ । सूचना अधिकारी सुवेदीका अनुसार बिहीबार दाङबाट २२९ र हेटौंडाबाट हिँडाइएको ३०२ गरी तीन वटा ट्रकबाट शुक्रबार बिहान ५३१ खसीबोका काठमाडौं आईपुगेको हो । थप १९९ वटा खसीबोका शुक्रबार साँझ आइपुगेको हो ।

कम्पनीले ल्याउने भनिएको२ हजार खसीबोका ल्याउने काम जारी रहेको बताउँदै आवश्यकता र माग अनुसार खसीबोका ल्याइने उनले जानकारी दिइन् ।

चीनले निर्यातमा रोक्दा महँगियो च्याङ्ग्रा

चीन सरकारले निर्यातमा रोक लगाउँदा नेपालमा च्याङ्ग्राको मूल्य उच्च भएको छ । यो वर्ष मुस्ताङ्गमा नै विगतमा २५ देखि ३० हजारमा पाइने रोज्जा च्याङ्ग्राको मूल्य प्रतिगोटा ४० हजार पुगेको छ ।

कोभिड–१९ महामारीपछि चीनबाट च्याङ्ग्रा आयात नहुँदा नेपाली बजारमा मूल्य बढेको हो । यस वर्षको दशैँमा एउटा जिउँदो च्याङ्ग्राको मूल्य औसतमा ४० हजार रुपैयाँसम्म पुग्ने व्यवसायीले अनुमान गरेका छन् ।

पहिला एउटा जिउँदो च्याङ्ग्राको मूल्य २५ हजारदेखि ३० हजार रुपैयाँ पर्ने गरेको थियो । गत वर्ष च्याङ्ग्राको तयारी मासु प्रतिकिलो एक हजार ८०० देखि दुुई हजार रुपैयाँसम्म बिक्री भएकामा यो वर्ष अझै बढ्ने बताइएको छ ।

दशैंमा करिब चार हजार ५०० च्याङ्ग्रा उपत्यकामा उपलब्ध गराउने व्यवसायीको योजना छ । सोहीअनुसार पहिलो चरणमा ल्याइने च्याङ्ग्रा मुस्ताङबाट हिँडिसकेका छन् ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसअघि ल्याउने भनेको १ हजार वटा च्याङ्ग्रा नल्याउँदा ब्यापारीले आफ्नो मनोमानीका आधारमा मूल्य तय गर्न पाएकाले पनि जति बढ्नुपर्ने हो सो भन्दा धेरै महङ्गोे भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ आश्विन २०७८, शुक्रबार  १९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।