कोरोना महामारीका कारण ठप्प आर्थिक क्रियाकलापले गति लिएपछि बैंकहरुको नाफामा पनि उच्च सुधार आएको छ । चालु आर्थिक वर्षको सुरुवातीमा बैंकहरुले छिटो आम्दानी हुने अल्पकालिन क्षेत्रमा लगानी विस्तार गर्दा नाफा बढेको हो ।
कोरोनाका कारण आर्थिक गतिविधि ठप्प रहेपछि बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाउन थाले । त्यो क्रम चालु आर्थिक वर्षको सुरुवातीसम्म नै कायम रह्यो । यो अवधिमा बैंकहरुले घरजग्गा, गाडी तथा शेयर बजारमा धेरै लगानी गरेको देखिन्छ । त्यसले गर्दा पनि बैंकहरुको नाफामा उच्च सुधार आएको हो । चालु आर्थिक वर्षको साउन महिनामा ६ अर्ब ३० करोड रुपैयाँ मात्र खुद नाफा गरेका बैंकहरुले भदौ महिनामा ११० प्रतिशतले बढाएर १३ अर्ब ६६ करोड पुर्याएका हुन। 
चालु आर्थिक वर्ष सुरु भएसंगै सुचारु भएको आर्थिक गतिविधिले आयात उच्च हुन थाल्यो । उच्च आयातका कारण रेमिट्यान्स आप्रबाहमा कमी तथा सरकारले खर्च गर्न नसक्दा बैंकिङ प्रणालीमा तरलता अभावको समस्या देखिन थाल्यो ।
चालु आर्थिक वर्षको पहिलो महिनाको अन्त्यदेखि देखिएको तरलता अभावको समस्या पहिलो त्रैमास वितीसक्दा पनि सहज हुन सकेको छैन । यो अवधिमा बैंकहरुले आफैले पनि शेयर बजारमा लगानी गरेकाले पनि नाफामा सुधार आएको हो । कोरोना महामारी सुरु भएदेखि निरन्तर बढेको शेयर बजार गत भदैसम्म निरन्तर सुधारको गतिमा थियो ।
चालु आर्थिक वर्षको भदौसम्ममा २७ वाणिज्य बैंकहरुले १३ अर्ब ६६ करोड खुद नाफा गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिमा तुलाममा ६५.६७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको भदौसम्ममा बैंकहरुले ८ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।
गत आर्थिक वर्षको सो अवधिमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बंगलादेश बैंक नोक्सानीमा थिए । तर, चालु आवको भदौसम्ममा भने सबै बैंकहरु नाफामा छन् । चालु आर्थिक वर्षको साउन महिनामा भने नेपाल बैंक मात्र करिब एक करोड रुपैयाँ नोक्सानीमा थियो ।
चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रण गर्ने र उत्पादन मूलक क्षेत्रमा कर्जा परिचालन गर्ने नीति लियो । केन्द्रीय बैंकको सो नीतिले पूँजी, कर्जा तथा निक्षेप अनुपातलाई खारेज गरेर कर्जा निक्षेप अनुपात कायम गर्यो । त्यसका साथै शेयर धितो कर्जामा पनि नियन्त्रण तथा ब्याजदर बढाउने नीति लियो । कोरोनापछि चलायमान भएको आर्थिक गतिविधिका कारण बैंकिङ प्रणालीको निक्षेप बाहिरिएपछि तरलता अभावको समस्या जटील बन्न थाल्यो ।

हाल वित्तीय प्रणालीको ब्याजदर दोहोरो अंकमा पुगेको छ भने तरलता अभावको समस्या पनि कायम नै रहेको छ । त्यतिमात्र नभई बैंकहरुमा कर्जा लगानी योग्य रकमको समेत अभाव देखिन थालेपछि मासिक रुपमा ब्याजदर बढाउने प्रतिस्पर्धा देखियो । पछिल्लो समयमा राष्ट्र बैंकले ब्याजदर बढाउने विषयलाई पनि नियन्त्रण गरेर अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशत भन्दा धेरै बढाउन नपाउने व्यवस्था गरेको छ ।
चालु आवको सुरुवातीमा सस्तो ब्याजदरका कारण अधिक मात्रामा गएको अल्पकालिन क्षेत्रको कर्जामा सिमितता आउने हुँदा आगामी महिनामा भदौको अनुपातमा नाफा वृद्धि हुने सम्भावना भने न्यून छ ।
भदौ महिनासम्ममा सबैभन्दा धेरै नाफा गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । सो अवधिमा बैंकले एक अर्ब ६ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोहही अवधिमा सम्मका बैंक करिब ७१ करोड रुपैयाँ नोक्सानीमा थियो । त्यसैगरी चालु आवको भदौसम्ममा ग्लोबल आइएमइ बैंक र नबिल बैंकको नाफा पनि करिब अर्बको हाराहारीमा पुगेको छ । यो अवधिमा सबैभन्दा थोरै सिभिल बैंकले १९ करोड रुपैयाँ मात्र खुद नाफा गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया