कामना सेवा विकास बैंकको लाभांश पाउन मंगलबारसम्म शेयरधनी बन्नुपर्ने

0
Shares

कामना सेवा विकास बैंक (KSBBL) को लाभांश पाउन कार्तिक ९ गते मंगलबारसम्म शेयरधनी भैसकेको हुनुपर्नेछ ।

बैंकले कात्तिक २३ गते, मंगलबार डाकेको १५ औं वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि कात्तिक १० गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार कार्तिक ९ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको असोज २५ गते, सोमबार सम्पन्न सञ्चालक समितिको ३१६ औं बैठकले पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठ, काठमाडौँमा बिहान १० बजे १५ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभाले बैंक सञ्चालक समितिको असोज ७ गते, बिहीबारको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७।७८ को सञ्चित नाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल २ अर्ब ६५ करोड १९ लाख रहेको बैंकको चुक्ता पूँजी बोनस वितरण पश्चात ३ अर्ब १४ करोड पुग्नेछ । यस्तै सभाले संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट ३ जना गरि संचालक समितिमा ६ जना निर्वाचन गर्नेछ ।

सभाले बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको बैंकको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७।७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने, बैंकको आर्थिक वर्ष २०७८।७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ कार्तिक २०७८, सोमबार  १३ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।