मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बाँडफाँड हुँदैछ ।
कम्पनीको शेयर निष्ष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार क्यापिटलको कार्यालय नक्सालमा आइपीओ बाँडफाँड गरिन लागिएको हो।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाबाट ८ लाख १९ हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् ।
कम्पनीको आईपीओमा २३ लाख ९३ हजार ४२८ वटा आवेदन परेको छ । यसअनुसार कुल आवेदकको ३४ प्रतिशतले गोलाप्रथाबाट शेयर पाउनेछन् भने ६६ प्रतिशत (१५ लाख ७४ हजार ४२८ जना) आवेदकको हात खाली हुनेछ ।
कम्पनीले गत असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी ८१ लाख ९० हजार कित्ता शेयरको लागि सर्वसाधरणबाट आवेदन माग गरेको थियो ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ ।
सर्वसाधारणमा आईपीओ जारी गर्नुपूर्व कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता र आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका बासिन्दाहरुलाई ६० लाख कित्ता शेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले सर्वसाधारणमा १ अर्ब ५० करोड बराबरको आईपीओ बिक्री गर्न वैशाख ५ गते धितोपत्र बोर्डको अनुमति पाएको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५० करोड छ । सर्वसाधारणमा आईपीओ बाँडफाँडपछि ६ अर्ब पूँजी पुग्नेछ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया