नोक्सानी घटेपछि बढ्न थाल्यो चन्द्रागिरिको शेयरमूल्य, आइतबार लाग्यो सकारात्मक सर्किट

0
Shares

चन्द्रागिरी हिल्सको नोक्सानी घटेपछि कम्पनीको शेयरमूल्य बढ्न थालेको छ ।  लकडाउन कारण चन्द्रागिरी केबलकार बन्द रहेपछि कम्पनीको नोक्सानी बढ्दै गएको थियो । तर सरकारले निषेधाज्ञा खुला गरेसँगै चन्द्रागिरी हिल्सको व्यवसाय बढ्दा लगानीकर्ताले कम्पनीको शेयर खरीद गर्न थालेका छन् ।

दोस्रो बजारमा कारोबार खुलेपछि २०७७ चैत २६ गते प्रतिकित्ता २ हजार ८०० रुपैयाँसम्ममा कारोबार भएको चन्द्रागिरीको शेयरमूूल्य २०७८ असोज १७ गते १ हजार २५२ रुपैयाँसम्म झरेको थियो । तर शुक्रबार कम्पनीले नोक्सनी सुधारिएको वित्तीय विवरण सार्वजनिक गरेसँगै आइतबार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यससँगै आइतबार कम्पनीको मूल्य १ हजार ६०६ रुपैयाँ पुगेको छ ।

शुक्रबार सार्वजनिक वित्तीय विवरण अनुसार होटलले ३ करोड ८७ लाख २१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरोको छ । गत आवको यसै अवधिमा कम्पनीको नोक्सानी ८ करोड ७१ लाख रुपैयाँ थियो । लकडाउन खुलेसँगै कम्पनीको आर्थिक प्रशासनिक क्रियाकलापहरु सञ्चालन हुन थालेपछि समीक्षा अवधिमा ४ करोड ८४ लाखले नोक्सानी सुधारिएको हो ।

चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ९१ लाख ३३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३ करोड ७८ लाख रुपैयाँ ऋणात्मक थियो ।

असोज मसान्तसम्ममा कम्पनीले ८ करोड १५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा ४४ लाख २० हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १३.६४ प्रतिशत बढेर १ अर्ब ५३ करोड ४० लाख ९१ हजार पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १०.१० रुपैयाँ ऋणात्मक छ । गत आवको यसै अवधिमा २५.८२ रुपैयाँ नोक्सानीमा रहेको थियो । 

कम्पनीको जगेडा कोष नोक्सानी भने २२ करोड ६८ लाखबाट बढेर ४३ करोड २२ लाख रुपैयाँ ऋणात्मक बनेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ७१.८२ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७८, आइतबार  १६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।