ब्याजदरमा राष्ट्र बैंकको प्रत्यक्ष हस्तक्षेपपछि वित्तीय प्रणालीमा नयाँ निक्षेप ठप्प

0
Shares

नेपाल राष्ट्र बैंकले खुला बजार अर्थतन्त्र विपरित ब्याजदरमा नीतिगत हस्तक्षेप गरेपछि वित्तीय प्रणालीका नयाँ निक्षेप ठप्प भएको छ । कात्तिक महिनाको पहिलो साताको सुरुवातीमा केन्द्रीय बैंकले ब्याजदरमा नीतिगत हस्तक्षेप गरेपछि दोस्रो सातामा निक्षेप नै नथपिएको हो ।

वित्तीय प्रणालीमा तरलता अभावको समस्या जटिल बन्दै गएपछि बैंक वित्तीय संस्थाले असोज महिनाको ब्याजदर बढाएका थिए । असोज महिनामा ब्याजदर बढाउँदा करिब ९७ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । उक्त निक्षेपले पनि तरलता अभावको समस्या सहज नभई झनै कर्जा लगानी योग्य रकमको समेत अभाव देखिन थाल्यो । त्यसपछि बैंकहरुले पुनः कात्तिक महिनामा ब्याजदर बढाए । कात्तिक महिनाका लागि बैंक वित्तीय संस्थाले बढाएको ब्याजदरमा नेपाल राष्ट्र बैैंकले प्रत्यक्ष नीतिगत हस्तक्षेप गर्यो ।

बैंकहरुले करिब १२ प्रतिशतसम्मको ब्याजदर कात्तिक महिनाका लागि कायम गरेपछि केन्द्रीय बैंकले निर्देशन नै जारी गरेर त्यसलाई फिर्ता गर्न भन्यो । राष्ट्र बैंकले कात्तिक १ गते बैंकहरुले प्रकाशित गरेको ब्याजदर हेरेर २ गते अघिल्लो महिनाको ब्याजदरमा अधिकतम १० प्रतिशत मात्र बढाउन पाउने व्यवस्था गर्यो । सो व्यवस्था कात्तिक महिनाका लागि पनि लागु हुने भन्दै बैंकहरुलाई ब्याजदर सच्चाएर प्रकाशित गर्न समेत निर्देशन दियो । त्यसपछि बैंकहरुले नेपाल राष्ट्र बैंकले भने अनुसार प्रतिस्पर्धात्मक रुपमा बढाएको ब्याजदर घटाएका थिए ।

बैंकहरुले ब्याजदर घटाए संगै नयाँ निक्षेप आउने क्रममा पछि ठप्प भएको एक बैंकले बताए। “नेपाल राष्ट्र बैंकले भनेको मान्नै प्रयो,” ती बैंकरले भने,“कात्तिकको पहिलो साताको गतिविधिले दोस्रो साताका निक्षेप थपिन ठप्प नै भयो ।” सर्वसाधारणको मात्र नभई सरकारी खर्च पनि नबढेकाले निक्षेप नआउको उनको भनाई छ । त्यसका साथै दशैमा बैंकिङ प्रणालीबाट बाहिरीएको करिब ३० अर्ब रुपैयाँ पनि नफर्केकाले समस्या केही बढेको उनको बुझाई छ । त्यो पैसा तिहार पछि फर्कन सक्ने भएपनि त्यसले सहज हुने अवस्था भने नरहेको उनको भनाई छ ।

बैंक वित्तीय संस्थामा निक्षेप राखेर ब्याज आम्दानी गर्नेका लागि राष्ट्र बैंकको नीतिगत हस्तक्षेप बाधक बन्यो । त्यसले गर्दा ब्याजका लागी निक्षेप राख्ने निक्षेपकर्ता निरास भएपछि बैंकहरुमा निक्षेप नथपिएको हो । बैंकहरुको भन्दा विकास बैंक र फाइनान्स कम्पनीको ब्याजदर धेरै भएपछि बैंकको निक्षेप समेत ‘ख’ र ‘ग’ वर्गका संस्थामा गएको अनुमान गर्न सकिन्छ । गत साता ती दिनमा बैंकहरुबाट २ अर्ब रुपैयाँ निक्षेप घटेको छ भने विकास बैंक र फाइनान्स कम्पनीमा २ अर्ब रुपैयाँ निक्षेप बढेको छ । यसले गर्दा पनि नेपाल राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गरेपछि बैंकहरुमा नयाँ निक्षेपको झनै अभावका हुन थालेको देखिन्छ ।

कात्तिक महिनाको नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ब्याजदर घटाएका वाणिज्य बैंकहरुवाट कात्तिक महिनाको ९, १० र ११ गते (तीन दिनमा) २ अर्ब रुपैयाँ निक्षेप बाहिरीएको छ । यो अवधिमा वाणिज्य बैंकहरुले मात्र ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत साताको मंगलबार बुधबार र बिहीबार वित्तीय प्रणालीमा निक्षेप थपिएको छैन । तर, कर्जा लगानी भने ८ अर्ब रुपैयाँ बढेको छ । यो अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुमा करिब २ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो अवधिमा ती संस्थाहरुले एक अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले कर्जालाई नियन्त्रण गर्न भन्दै कजौ निक्षेप अनुपात ९० प्रतिशत कायम गरेको छ । पूँजी, कर्जा तथा निक्षेप अनुपातलाई खारेज गरेर कर्जा निक्षेप अनुपात मात्र कायम राख्दा अधिकासं बैंकहरुलाई कर्जा लगानी गर्ने अवस्था नै थिएन । त्यसले गर्दा पनि नयाँ कर्जाका लागि बैंकहरुले नयाँ निक्षेप लिनुपर्ने बाध्यता छ । त्यतिमात्र नभई नयाँ निक्षेप लिएर सीमा भन्दा माथि गएको कर्जा निक्षेप अनुपातलाई समेत सन्तुलनमा राख्न पर्ने दवावमा पनि बैंक वित्तीय संस्थाहरु छन् ।

सरकारले खर्च गर्न नसक्ने, रेमिट्यान्स आप्रबाहमा कमी, सरकारी ट्रेजरी विलको अधिक निष्काशन तथा उच्च आयातले गर्दा वित्तीय प्रणालीमा तरलता अभावको समस्या जटिल बनेको हो । बैंकहरुले अल्पकालिन तरलताका लागि उच्च दरमा स्थायी तरलता सुविधा प्रयोग गर्दै आएका छन् । तर, कर्जाको मागमा भने कमी आएको छैन । कर्जा विस्तारका लागि नयाँ निक्षेप अनिवार्य छ । व्याजदर बढाउन राष्ट्र बैंकले रोक लगाएका कारण नयाँ निक्षेप नपाएका बैंकहरुले कर्जा नै बिक्री गरिरहेको अवस्था छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक ११ गतेसम्मका वित्तीय प्रणालीको कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । यो अवधिसम्मको कुल कर्जा ४५ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । यो अवधिमा सम्मका वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप ४२ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । वाणिज्य बैंकहरुबाट मात्रै कुल ४० खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । कात्तिक ११ गतेसम्ममा विकास बैंक र फाइनान्स कम्पनीमा कुल ५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने ५ खर्ब एक अर्ब कर्जा लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७८, आइतबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।