तिहारमा लोडसेडिङ हुने कुनै अवस्था नै आउँदैन, निर्धक्क साथ विद्युतीय बत्ति बाल्नुस्: कुलमान घिसिङ

0
Shares

नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्षको तिहारमा उपभोक्तालाई निर्धक्क साथ विद्युतीय बत्ति (झिलिमिली) बाल्न कुनै समस्या नपर्ने बताएका छन् ।

मंगलबार आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा लागि आवश्यक विद्युत प्रयाप्त रहेको बताउँदै लोडसेडिङ नहुने तथा विद्युतीय सामाग्रीहरुको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका हुन् । आजबाट तिहारको बाक्लो चहलपहल सुरुभएसंगै तिहारमा लोडसेडिङ हुन्छ कि भन्ने आंशकालाई चिर्दै उनले भने, “केही ठाउँहरुबाट तिहारमा त लोडसेडिङ हुन्छ कि भन्ने हल्ला पनि मैले सुने । लोडसेडिङ गर्नुपर्ने, बत्ति काट्नुपर्ने कुनै अवस्था नै आउँदैन । निर्धक्कका साथ उपभोक्ताले झिलिमिलि बाल्दा हुन्छ”
कुलमान घिसिङले दशैं तिहार र छठको समयमा आउने विद्युतको माग धान्न सकिने जानकारी दिएका हुन् ।

घिसिङ भन्छन् “विगत लोडसेडिङको अवस्थामा तिहारको समयमा एकदमै पिक हुन्थ्यो, तर अहिले तिहारमा हुँदैन । यस वर्ष भदौ महिनाको कुनै दिन १ हजार ६२० मेगावट माग भएको थियो । यस वर्षको तिहारमा १ हजार ५०० मेगावट भन्दा बढी विद्युत खपत हुने अपेक्षा गरेका छैनाैं ।”

उपभोक्तालाई प्राधिकरणको आग्रहः इन्डक्सन चुलोेको प्रयोग गर्नुस्

दीपावलीको अवसरमा चाहिए जति बिजुली खपत गर्न समेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । बत्ती नै बत्तीको पर्वको रुपमा रहेको दीपावलीलाई थप उज्यालो बनाउन विगतका वर्षहरुदेखि नै प्राधिकरणले साथ र सहयोग गरेको तथ्य पेश गर्दै कार्यकारी निर्देशक घिसिङले सबै प्रकारको प्राविधिक तयारी गरिएको बताए ।

सबै वितरण केन्द्र तथा शाखालाई सोहीअनुसार निर्देशन दिइएको र कुनै पनि स्थानमा समस्या आउन नदिन जनशक्ति परिचालन गरिएको उनको भनाइ छ । “कुनै पनि समस्या नआओस् भनेर विशेष ध्यान दिइएको छ । सबै शाखा तथा वितरण केन्द्रलाई कुनै समस्या आउ तत्काल समाधान गर्ने गरी परिचालन गरिएको छ ।”

सरकारी तथा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत नै हाल प्रयाप्त रहेको जानकारी दिँदै उनले भने अहिले दिनमा २०० मेगावट र राती ५०० मेगावट विद्युत खेर गइरहेको छ ।

समयमा काम नहुँदा उपकरण आपूर्तिमा समस्या

कार्यकारी निर्देशक घिसिङले आफू झण्डै एक वर्ष प्राधिकरण बाहिर रहँदा मिटर र ट्रान्सफर्मर एवं तारको नियमित बोलपत्रमा समस्या परेको बताए ।

मनग्गे रुपमा विद्युतीकरणका लागि आवश्यक पर्ने मिटर, ट्रान्सफर्मर र तार अभाव रहेको भन्दै त्यसको समाधानका लागि पहल भइरहेको बताए ।

तीन हजार ट्रान्सफर्मर नेपाली कम्पनी नेपाल इकरातबाट खरिद गर्ने गरी बोलपत्र भइसकेको छ । यस्तै, मिटर र तार आयातका लागि समेत बोलपत्रको प्रक्रिया अगाडि बढेको छ । समयमा काम हुन नसक्दा ती सामग्रीको अभाव रहेको उनले बताए । देशको कूल जनसङ्ख्यामध्ये ९० प्रतिशतमा बिजुली पुगेको भए पनि अझै विद्युतीकरणको प्रक्रिया जारी रहेकाले थप मिटर, ट्रान्सफर्मर र तार आवश्यक पर्ने उनको भनाइ छ ।

सिँचाइका लागि सकारात्मक पहल

प्राधिकरणले यस पटक लागू गर्न लागेको बिजुलीको महशुलमा सबैभन्दा बढी लाभ सिँचाइ क्षेत्रले प्राप्त गरेको छ । पछिल्लो महशुलअनुसार प्रतियुनिट दुईमा सिँचाइका लागि बिजुली उपलब्ध हुने भएको छ ।

पछिल्लो पटक विद्युत् नियमन आयोगले स्वीकृत गरेको नयाँ महशुलअनुसार तराईका विशेष गरी प्रदेश नं २ का किसान सबैभन्दा बढी लाभान्वित हुने भएका छन् । सो प्रदेशको करिब शतप्रतिशत क्षेत्रमा नै विद्युतीकरण भएको छ । सोही प्रदेशमा दातृ निकायको सहयोगमा चार अर्ब बराबरको परियोजना अगाडि बढेको छ ।

प्राधिकरणले सो प्रदेशमा छुट्टै प्रसारण लाइनमार्फत सिँचाइको फिडर बनाउने तयारी गरेको छ । रातको समयमा खेर जाने बिजुलीको खपतसमेत हुने र कृषिउपज उत्पादनमा बढाउनका लागिसमेत सिँचाइमा छुट दिइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । उनले उद्योगी तथा व्यवसायीलाई पनि नयाँ नयाँ उद्योग स्थापना गर्न आग्रह गरे ।

उनले भने “अब १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत सहजरुपमा बिजुली दिन सकिन्छ । नयाँ उद्योग स्थापनामा लाग्नुस । बिजुलीको चिन्ता हामीलाई छाडिदिनुस् ।” उनले ट्रंक तथा डेडिकेटेड लाइनको महशुलसम्बन्धी विवाद क्रमशः समाधान हुने समेत बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार  १८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।