राष्ट्रपतिको पहिलो तथ्याङ्क लिएर १२ औं राष्ट्रिय जनगणना प्रारम्भ

0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औं राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।

शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना– २०७८ को प्रारम्भ गरिएको हो ।

तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङ्क लिएर राष्ट्रिय जनजणना– २०७८ को औपचारिक शुभारम्भ गरिएको बताए ।

उनका अनुसार राष्ट्रपतिलाई जनगणनाको तथ्याङ्कमा रहेका ८० वटा प्रश्न सोधिएको थियो । तथ्याङ्क विभागका अनुसार राष्ट्रपतिपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक तथ्याङ्क सङ्कलन गरिने छ । यसरी आजबाट देशभर राष्ट्रिय जनगणना– २०७८ सुरु भएको छ ।

प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी

प्रधानमन्त्री शेरबहादुर देउवाले १२औं राष्ट्रिय जनगणना अभियानमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिकरूपमा सन्देश दिनका लागि तथ्याङ्क लिइएको उनले उल्लेख गरे ।

निर्देशक लामिछानेका अनुसार विभागका महानिर्देशकले प्रधानमन्त्रीको पारिवारिक विवरण सङ्कलन गरेका थिए । राष्ट्रिय योजना आयोगका सचिवले जनगणनाबारे जानकारी गराउँदै यसको हरेक क्षेत्रमा पर्ने प्रभावबारे प्रधानमन्त्री देउवालाई अवगत गराएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङ्कलन गरेर आजदेखि देशभर १२औँ राष्ट्रिय जनगणना–२०७८ प्रारम्भ भएको हो । राष्ट्रपतिपछि प्रधानमन्त्रीको जनगणना गरिएको छ । आजैबाट देशभर जनगणना सुरु गरिएको छ । राष्ट्रिय जनगणना अभियान कात्तिक २५ देखि सुरु भई मङ्सिर ९ गतेसम्म १५ दिनको कार्यक्रममा रहने र गणकहरूले हरेक नेपालीको घरदैलोमा पुगेर गणना गर्नेछन् ।

जनगणनामा कोही नछुटुन् भनेर विभागले प्रविधिको प्रयोग गरेको छ । विदेशमा कूटनीतिक नियोगमार्फत गणना गरिनेछ । दार्चुलाको लिम्पीयाधुरामा कूटनीतिक पहलबाट समन्वय गरेर वा वैकल्पिक विधिबाट भए पनि जनगणना गरिने विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहिबार  १२ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।