एक वर्षभन्दा कम अवधिको बीमालेख पनि जारी गर्न पाइने

0
Shares

बीमा समितिले एक वर्षभन्दा कम अवधिको बीमालेख पनि जारी गर्न पाइने व्यवस्था गर्दै दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ ।

समितिका अनुसार दुर्घटना बीमालेख एक वर्ष वा सो भन्दा कम अवधिको लागि मात्रै पनि जारी हुनेछ । बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति (घण्टा र मिनेट सहित उल्लेख गर्नुपर्ने व्यवस्था छ ।

यस्तो बीमालेख जोखिम प्रारम्भ भएको अर्को वर्ष सोही मितिको अघिल्लो मध्यरात १२ बजे बीमा अवधि समाप्त हुने उल्लेख छ । साथै बीमितको अनुरोधमा निर्जीवन बीमा कम्पनीहरुले छोटो अवधिको लागि बीमालेख जारी गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।

छोटो अवधिका बीमालेखमा लाग्ने बीमाशुल्क समेत अलग अलग तोकिएको छ । निर्देशिका अनुसार एक महिनासम्मको लागि वार्षिक बीमाशुल्कको २५ प्रतिशत, एकदेखि ३ महिनाको लागि ५० प्रतिशत, ३ देखि ६ महिनाको लागि ६० प्रतिशत र ६ देखि १ वर्ष सम्मको लागि शत प्रतिशत बीमाशुल्क लाग्ने व्यवस्था गरिएको छ ।
बीमा कम्पनीहरुले व्यक्तिगत दुर्घटना बीमालेख र सामुहित दुर्घटना बीमालेख गरी दुइ प्रकारको बीमालेख जारी गर्नेछ ।

व्यक्तिगत दुर्घटना बीमाको लागि न्युनतम बीमादर प्रतिव्यक्ति प्रतिहजार न्युनतम २ रुपैयाँ हुनेछ । यस्तै सामुहिक दुर्घटना बीमा अन्तर्गत दुई देखि २५ जना सम्मको लागि प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ, २६ जना देखि १०० सम्मको लागि प्रति व्यक्ति प्रतिहजार १ रुपैयाँ ७५ पैसा, १०० भन्दा बढीको लागि प्रति व्यक्ति प्रतिहजार न्युनतम १ रुपैयाँ ५० पैसा बीमादर तोकिएको छ ।

व्यक्तिगत दुर्घटना बीमालेखमा एकपटक बीमालेख जारी भएपश्चात बीमा अवधिभर बीमादर बढाउन वा घटाउन नपाउने व्यवस्था निर्देशिकाले गरेको छ । त्यस्तै क्षतिपूर्ति स्वरुप एक लाख रुपैयाँभन्दा बढी रकमको औषधोपचार खर्च लिन चाहेमा थप औषधोपचार खर्चका लागि थप गरिएको बीमाङ्कको पाँच प्रतिशत बीमाशुल्क कायम हुनेछ ।

बीमाशुल्क गणना गर्दा प्रतिबीमालेख एकसय रुपैयाँभन्दा कम बीमाशुल्क लिन नपाउने व्यवस्था निर्देशिकाले गरेको छ । तर, लघुबीमा अन्तर्गतपर्ने दुर्घटना बीमालेखको हकमा भने यो व्यवस्था लागू नहुने व्यवस्था गरिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार  १४ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।