शेयर बजार सूचक मापक नेप्से बढ्न थालेपछि शेयर बजारमा माहोल फर्किएको छ । नेप्से घट्दा बजार छाडेका लगानीकर्ताहरुपनि विस्तारै बजारमा प्रवेश गरेका छन् । बजारको वृद्धिले महङ्गोमा शेयर खरीद गरेकालाई एकातिर राहत महसुस भएको छ भने अर्कोतिर निरन्तरको वृद्धिले बजारमा लगानी गर्ने योजनाका साथ कारोबारीहरुको प्रवेश हुन थालेको छ ।
आइतबार १.३८ अंकको सामान्य गिरावटपछि त्यसपछिका तीन कारोबार दिनमा लगातार ११२.६१ अंकको वृद्धिले बजारमा सकारात्मक माहोल सिर्जना हुँदा सूचकका साथै कारोबार रकममा पनि बढोत्तरी हुँदै आइरहेको छ ।
नेपाल राष्ट्र बैंकले मंसिरदेखि लागू हुनेगरी बैंक तथा वित्तीय संस्थाहरुलाई अघिल्लो महिना प्रकाशित ब्याजदरको औसतमा दश प्रतिशत मात्र ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था ल्याएपछि बजार बढ्न थालेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार नेप्से सूचक १६.९५ अंकले बढेर २८०१.५२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा अडिएको छ ।
यसदिन कूल २२४ वटा कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रूपैयाँ बराबरमा खरिद बिक्री भएका छन् । स्टकका अनुसार यसदिन कारोबार भएका कूल १३ उपसमूहका सूचकमध्ये ७ वटा बढेको छ भने ६ वटाको घटेको छ । अन्य सर्वाधिक ५.२९ प्रतिशतले बढ्दा जलविद्युत २.२४, होटल १.३१ र फाइनान्स १.२२ प्रतिशतले बढेको छ । उत्पादनमुलक १.५१ र विकास बैंकको सूचक १.३५ प्रतिशतले ओरालो लागेको छ ।
बुधबार नेपाल टेलिकमको सर्वाधिक ५८ करोड ६८ लाख ६२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । महालक्ष्मी विकास बैंक ३८.५६ करोड, एशियन लाइफ ३३.६४, नेशनल हाइड्रोपावर २६.३१, गरिमा विकास बैंक २२.२१ र अपि पावरको २०.२१ करोड रुपैयाँको शेयर खरीद बिक्री भएको छ । लुम्बिनी विकास बैंक, अरुण काबेली पावर, हिमाल दोलखा हाइड्रोपावर र आईसीएफसी फाइनान्सको शीर्ष दश ठूलो कारोबार भएको छ ।
बुधबारको बजारमा ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन पञ्चकन्या माइ हाइड्रोपावर, अपर तामाकोशी, तेह्रथुम पावर कम्पनी लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल बंगलादेश बैंक र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब दश प्रतिशतले बढेको हो ।
उता बोटलर्स नेपाल तराईको शेयरमूल्य सबैभन्दा धेरै ७।४७ प्रतिशतले घटेर १३ हजार एक रूपैयाँमा झरेको छ । महालक्ष्मी विकास बैंकको मूल्य ७.४१ तथा गुराँस लाइफ इन्स्योरेन्सको मूल्य ४.१३ प्रतिशतले घटेको छ । यसैगरी गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, एनआरएन र सिन्धु विकास बैंकको शेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया