ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्यो

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) को चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । बैंकको यो पूँजी वाणिज्य बैंकहरुमै सबैभन्दा धेरै हो ।

तत्कालीन दुई वाणिज्य बैंकहरु जनता बैंक र ग्लोबल आईएमई मर्जरपछि नै ग्लोबल आईएमई बैंक वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै चुक्ता पूँजी भएको बैंक बनेको थियो । बैंकमा हालसम्म करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती भैसकेका छन् ।

बैंकको सोमबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर अनुमोदन गरेसँगै बैंकको चुक्ता पूँजी पौने २४ खर्ब पुगेको हो । सभाले आर्थिक वर्ष २०७७।७८ को कुल मुनाफाबाट सेयरधनीहरुलाई बोनसको अतिरिक्त कर सहित ३.५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७७।७८ मा सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो ।

साधारण सभामा बैंकको सञ्चालक समिति अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।

उनले कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पुर्याउन लागिपरेको बताए । बैंकले अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले २०७९।८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणा अनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गर्दै जाने पनि साधारण सभामा जानकारी दिए ।

बैंकले सदाझैं आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलित रुपमा बैंकको उपस्थिती वृद्धि गर्दै जाने उनको भनाई थियो ।

बैंकको खुद मुनाफा आ.व.२०७६।७७ को तुलनामा आ.व.२०७७।७८ मा ४३.२० प्रतिशतले वृद्धि भई ४ अर्ब १६ करोड रुपैयाँ पुगेको हो । हाल बैंकले २ खर्ब ७४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यकासाथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ मंसिर २०७८, मंगलबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।