
सेयर बजारमा बुधबार ९१.१६ अंकको उछाल आउँदा लगानीकर्ताको सेयर बजारमा रहेको सम्पत्ति १ खर्ब २९ अर्ब ५७ करोडले बढेर ३५ खर्ब २५ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।
मंगलबार सेयर बजारको कुल बजार पूँजीकरण ३३ खर्ब ९६ अबए ३२ लाख रुपैयाँ रहेको थियो ।
कारोबारमा आएका २३३ मध्ये २०७ कम्पनीको मूल्य बढेपछि लगानीकर्ताको सम्पत्ति पनि सवा खर्ब बढीले बढेको हो । यसदिन १३ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको भाउ भने स्थीर रहेको नेप्सेले जनाएको छ ।
बुधबार बजार सूचक नेप्से ३.८२ प्रतिशत अर्थात ९१.१६ अंकले बढेर २५०७.७० अंकमा पुगेको छ । कारोबारमा आएका अधिकांश कम्पनीको सूचक बढेपछि नेप्सेमा हरियाली छाएको हो । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १४.७४ अंकले बढेर ४७७.२६ बिन्दुमा पुगेको छ ।
यसदिन २३३ कम्पनीका ८१ लाख ४ हजार ३१९ कित्ता सेयर ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँमा खरीद बिक्री भएका छन् । बुधबार व्यापार सूचक ८.२३ प्रतिशतले बढेको छ । यस्तै हिमालयन डिष्टिलरीको सेयरमूल्य बढेपछि उत्पादनमुलक समुहको सूचक पनि ७.६६ प्रतिशतले बढेको छ । जलविद्युत ६.०३, विकास बैंक ५.५१, र लगानी सूचक ५.१९ प्रतिशतले बढेको छ । बैंकिङ्ग २.२२, होटल ३.५८, फाइनान्स ३.५१, निर्जीवन बीमा ४.७६, अन्य ३.४४, लघुवित्त ३.९६, जीवन बीमा ३.९९ र म्युचुअल फण्डको सूचक ०.४७ प्रतिशतले बढेको छ ।
आज हिमालयन डिष्टिलरीको सर्वाधिक ६८.३४ करोडको सेयर कारोबार भएको छ । गत आवको नाफाबाट ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद सहित १०० प्रतिशत लाभांश घोषणाले कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ७ हजार पुगेको छ । यस्तै अपर तामाकोशी १५.८२ करोड, अरुण भ्याली १३.९० करोड, गोर्खाज फाइनान्स १३.३७ करोड, नबिल बैंक ११.७८ करोड, अपि पावर ११.७५ करोड, नेशनल हाइड्रोपावरको ११.५७ करोडको सेयर कारोबारमा आएको छ । महालक्ष्मी विकास बैंक, एचआईडिसीएल, र अरुण काबेली पावर शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् ।
बुधबार चार कम्पनीहरु शिवम् सिमेन्टस्, अरुण भ्याली हाइड्रोपावर, अपर तामाकोशी बरुण हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेर बढेको छ । स्वाभिमान लघुवित्त, सगरमाथा इन्सयोरेन्स, आरएसडिसी लघुवित्त, हिमालयन डिष्टिलरी, हिमाल दोलखा हाइड्रोपावर, र युनियन लाइफको सेयरधनीले पनि ९ प्रतिशतभन्दा धेरैले नाफा कमाएका छन् ।
उता यसदिन अधिकांश डिबेञ्चरहरुको मूल्य घटेको छ । नेपाल बैंक डिबेञ्चर २०८५को मूल्य ४.५९ प्रतिशतले घट्दा प्रभु सेलेक्ट फण्ड र गोर्खाज फाइनान्सको सेयरमूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया