नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई लघुवित्तका कर्मचरीहरुले हिनामिना गरेको १ करोड ६२ लाख ५३ हजार ९९५ रुपैयाँको असुल उपर सम्बन्धमा भएको पछिल्लो प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्था सुररिवेक्षण विभागले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट लघुवित्तले प्रस्ताव गरेको लाभांश अनुमोदन र वार्षिक वित्तीय विवरणहरु प्रकाशन गर्न स्वीकृति दिँदै उक्त रकम असुली सम्बन्धमा भएको प्रगति उपलब्ध गराउन निर्देशन दिएको हो ।
केन्द्रीय बैंकले संस्थाले पेश गरेको आर्थिक वर्ष २०७७।७८ को लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब, सोसँग सम्बन्धित अनुसूचीहरु, लेखापरीक्षकको प्रारम्भिक तथा अन्तिम लेखापरीक्षण प्रतिवेदन र सो उपर व्यवस्थापनको प्रतिक्रिया, लङ्गफर्म अडिट रिपोर्ट लगायतका वित्तीय विवरणहरुको आधारमा गैर-स्थलगत सुपरिवेक्षण गर्दा देखिएका कैफियतहरुका सम्बन्धमा आयकर ऐन नियमावली तथा अन्य प्रचलित कानूनी व्यवस्था समेतको पालना गर्ने गरी देहाय बमोजिमका निर्देशनहरु सेयरधनीहरुको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित तथा कार्यान्वयन गर्न समेत भनेको छ ।
यस्तै तीन वर्षको एक पटक सिस्टम अडिट गराउन, आफ्ना सदस्यहरुबाट एकभन्दा बढी शीर्षकमा बचत संकलन गरेको भएमा एकै शीर्षकमा समायोजन गर्न, संस्थाले तयार गरेको वित्तीय विवरणका अनुसूचीहरु एकीकृत निर्देशन, २०७७ बमोजिम निर्धारित ढाँचामा तयार गरी प्रकाशन गर्न तथा संस्थााको आन्तरिक र बाह्य लेखापरीक्षक तथा यस बैंकको स्थलगत निरीक्षण र गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले औंल्याएका कैफियतहरु पुनः नदोहोरिने गरी सुधार गर्न समेत निर्देशन दिएको छ ।
साथै राष्ट्र बैंकले लघुवित्त संस्थाले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७।७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ असारमसान्तमा कायम चुक्ता पूँजी ४१ करोड ९० लाख ५३ हजारको ४० प्रतिशतले हुने १६ करोड ७६ लाख २१ हजार ४२१ रुपैयाँ बोनस सेयर र चुक्ता पूँजीको ५ प्रतिशतले हुने रकम २ करोड ०९ लाख ५२ हजार ६७७ रूपैयाँ ६३ पैसा (नगद लाभांश कर प्रयोजन सहित) गरी कुल ४५ प्रतिशतले हुने रकम १८ करोड ८५ लाख ७४ हजार ९८ रूपैयाँ ६३ पैसा लाभांश वितरण सम्बन्धी प्रस्ताव साधारण सभाबाट स्वीकृत गरे पश्चात वितरण गर्न स्वीकृती दिएको छ ।
नेपाल राष्ट्र बैंकले लाभांश वितरण गर्न स्वीकृति दिएसँगै लघुवित्तले माघ ६ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।
नेशनल माइक्रोफाइनान्सले ४५% लाभांश पारित गर्न बोलायो साधारण सभा










प्रतिक्रिया