नेपाल फाइनान्स लिमिटेड (NFS) ले पूँजी वृद्धिमा जोड दिने भएको छ ।
हाल कायम पूँजीको ७० प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी बढाउन पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको यस कम्पनीले पूँजी वृद्धिका लागि थप मर्जर तथा प्राप्ती प्रकृया अगाडि बढाउने भएको हो । फाइनान्सले चैत ८ गते मंगलबार धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ ।
यसअघि ललितपुर फाइनान्सलाई आफुमा विलय गराएको फाइनान्स कम्पनीले आगामी वार्षिक साधारण सभामाबाट अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ ।
चैत्र ९ गते बुधबार सम्पन्न फाइनान्स कम्पनीको सञ्चालक समितिको बैंठकले बैशाख ३ गते शनिबार होटेल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा विहान १०ः०० बजे कम्पनीको २९ औं वार्षिक साधारण सभा डाकेको छ ।
२९ औं वार्षिक साधारण सभामा फाइनान्सले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव राखेको छ ।
सभाले मर्जर तथा प्राप्तीका जानका लागि संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, गाभ्ने /गाभिने तथा एक्विजिशन गर्ने समझदारीपत्र तर्जुमा गर्ने, हस्ताक्षर गर्ने, अन्तिम सम्झौता तयार पार्ने, हस्ताक्षर गर्ने लगाएतका गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने समग्र वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन सहितको आव २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आव २०७८/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा राखेको छ ।

खराब कर्जाले संकटग्रस्त्र बनेको यस फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको वित्तीय अवस्था सुधार हुने क्रममा नै रहेकाले यो वर्ष फाइनान्सका लगानीकर्ताको हात खाली हुने भएको छ । पछिल्ला दिनमा फाइनान्सले उत्कृष्ट पफमेन्स समेत गर्दै आइरहेको छ । पुस मसान्तसम्म फाइनान्सले ३ करोड ३२ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिसेयर आम्दानी १३.४९ रुपैयाँ कायम गरेको छ ।
साधारण सभा प्रयोजनका लागि नेपाल फाइनान्सले चैत्र १७ गते एक (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार चैत्र १६ गते बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया