बलेफीको आईपीओ बाँडफाँड हुँदै, १ लाख ६६ हजार ३४५ जनाले मात्र पाउने

0
Shares

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मंगलबार बिहान बाँडफाँड हुँदैछ ।

मंगलबार बिहान ९ बजेदेखि निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको कार्यालय, लक्ष्मण बाबु भवन, नक्साल, काठमाडौँमा आईपीओ बाँडफाँड हुनेछ । आईपीओको शुक्रबार नै प्रि अलटमेन्ट सम्पन्न भैसकेको छ ।

कम्पनीले चैत्र १६ गते बुधबारबाट चैत्र २१ गते, सोमबारसम्म सर्वसाधारणका लागि साधारण सेयर ९आईपीओ० निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्काशन गरेको हो ।

कुल जारी सेयरमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ९१ हजार ३८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४१६ बटा आवेदन मार्फत २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन परेको छ । जुन सर्वसाधारणबाट माग गरिएको सेयरको १५.७६ गुणा बढी हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ भाग्यमानी १ लाख ६६ हजार ३४५ जनाले मात्रै पाउनेछन् । जसमध्ये १ लाख ६६ हजार ३४२ जनाले १० कित्ता र ३ जनाले ११ कित्ता सेयर पाउनेछन् । यो कुल आवेदकको ७।३३ प्रतिशत मात्र हुन आउँछ ।

सर्वसाधारणबाट माग भएको सेयरको तुलनामा उच्च आवेदनका कारण यो निष्काशनमा समेत २१ लाख ३ हजार ७१ जनाको भने हात खाली हुनेछ । प्रारम्भिक तथ्याङ्कलाई आधार मान्दा ९२.६७ प्रतिशतले आवेदक सेयर नपाउने तथ्य प्राप्त भएको हो । प्रमाणिकरणपछि आउने अन्तिम तथ्याङ्कमा भने हात खाली हुने लगानीकर्ताको तथ्याङ्कमा भने केही तलमाथि पर्न सक्नेछ ।

सिन्धुपाल्चोकको साविकको गुम्बा र गोल्चे गाविसहरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार  ०८ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।