साना किसान र आरएमडीसी लघुवित्तबीच मर्जर सम्झौता

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाम्भे गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपालका प्रतिष्ठित एवं प्रमुख दुई थोक कर्जा प्रदायक लघुवित्त संस्थाहरु गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी समझदारी भएको हो ।

नेपाल सरकार, अर्थमन्त्रालयका वित्त सल्लाहकार डा. शालिकराम पोख्रेलको प्रमुख आतिथ्यमा इन्द्रेणी होटेल, नयाँ बानेश्वरमा भदौ ३१ गते शुक्रबार भएको समझदारी पत्र हस्ताक्षर भएको हो । कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठक र मर्जर उपसमितिका संयोजक उमेश लम्साल तथा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक भिम प्रसाद तिम्सिनाले समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका छन् ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१००:८७) कायम हुने गरी सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) कायम गर्ने समेत सहमति भएको छ । मर्जरपछि बन्ने संयुक्त लघुवित्त वित्तीय संस्थाको पुँजी कोष ७ अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब पुग्नेछ ।

मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोईराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट २।२ जना, सर्वसाधारण समूहबाट १।१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ ।

नेपाल राष्ट्र बैंकले अख्तियार गरेको मर्जर सम्बन्धी नीतिको सम्मान गर्दै नेपालको कृषि तथा लघुवित्तको क्षेत्रमा लगानी गर्ने वैकल्पिक एवं सबल विशिष्टिकृत वित्तीय संस्थाको खाँचो पूरा गर्न र समाजका विपन्न तथा सिमान्तकृत वर्गमा सहज एवं सरल वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारको एक सशक्त एवं जिम्मेवार वित्तीय साझेदारको रुपमा स्थापित हुन यो मर्जर गरिएको जनाइएको छ ।

मर्जर समझदारीमा दुबै वित्तीय संस्थाका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्चपदस्थ अधिकारीहरु, मर्जर समितिका पदाधिकारीहरु, पत्रकार तथा अन्य पाहुनाहरुको उपस्थिति थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।