नेपालमा पेट्रोलियम उत्खननको काम कहाँ पुग्यो ? उत्पादनको सम्भाव्यता कति ?

0
Shares

नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अगाडि बढाउन ड्रिलिङ गर्ने स्थान पहिचान भएपछि त्यहाँ उपकरण लैजान सहज पार्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्।

पश्चिम नेपालको दैलेख जिल्लाका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको खोजीका लागि यसअघि नेपाल आएका चिनियाँ टोलीले दैलेखका विभिन्न चार स्थानमा अन्वेषण गर्ने गरी स्थान पहिचान गरेको नेपाली अधिकारीहरूले बताएका हुन्।

सेप्टेम्बरको पहिलो साता पूरै टोली चीन फर्किएको र अब नोभेम्बरमा अन्वेषणको काम थाल्ने गरी उपकरणसहित आउन लागेको पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजनाका प्रमुख दिनेशकुमार नापितले बताए।

‘ड्रिलिङ गर्ने क्षेत्रमा भारी उपकरणहरू लैजानका लागि पूर्वाधार पनि चाहियो। हामी त्यही काम सहज बनाउन अहिले जग्गा अधिग्रहण र बाटो स्तरोन्नतिको काम गरिरहेका छौँ,’ उनले भने।

‘चिनियाँ टोली उपकरणहरूसहित आउँदो नोभेम्बरमा पुनस् नेपाल आउने र त्यसपछि काम थाल्ने भएका छन्।’

नेपालमा पेट्रोलियम पदार्थको खोजी कहिलेबाट सुरु भयो ?

नेपालमा पहिलो पटक सन् १९७९ मा पेट्रोलियम पदार्थ खोजीका लागि गतिविधि सुरु भएको थियो।

पेट्रोलियम पदार्थ उत्खननको सम्भाव्यता अध्ययनका लागि नेपालमा विगतमा नेदरल्याण्डस्‌, चीन, क्यानडालगायत देशबाट पनि विज्ञको टोली आएको बताइन्छ।

नेपाल सरकारले सन् १९८२ मा पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्रलाई एउटा छुट्टै इकाईका रूपमा स्थापना गरेको थियो।

चीनको न्याशनल चाइना पेट्रोलियम कर्पोरेशन विश्वकै पेट्रोल अन्वेषण र उत्खनन गर्ने सबैभन्दा ठूलो संस्था हो।

उक्त संस्थाले नै नेपालमा तेल र ग्यासको उत्खननको सम्भावनाबारे अध्ययन थालेको हो।

खानी तथा भूगर्भ विभागले तीन दशक अघिदेखि नेपालमा पेट्रोलियम खानीको अन्वेषण थालेको थियो।

सन् २०१९ मा नेपाल र चीनबीच सम्झौता भएपछि भने अन्वेषणको कामका लागि चीनबाट आएको टोलीले अलि लामो अध्ययन गरेको थियो।

अहिलेसम्मको कामको प्रगति

पेट्रोलको अन्वेषणकै लागि जमिन सतहबाट चार किलोमिटर मुनिसम्म हेर्नुपर्ने हुँदा ड्रिलिङ गर्नका लागि भारी उपकरणहरू ठूलो मात्रामा ल्याउनुपर्ने परियोजना प्रमुख नापितले बताए।

‘उनीहरूको मुख्य चासो भनेकै बाटोको छ। हामी सडक विभागसँग त्यसका लागि निरन्तर सम्पर्कमा छौँ। चिनियाँहरूले यो कामलाई प्राथमिकतामा राखेका छन् र उनीहरूले आउने प्रतिबद्धता जनाएका छन्,’ उनले भने।

अध्ययनबाट दैलेखको धार्मिक स्थल श्रीस्थान र नाभीस्थानबाट उत्तरपश्चिम पर्ने क्षेत्रमा पेट्रोलियम पदार्थ हुनसक्ने देखिएपछि सुरुमा अन्वेषणात्मक ड्रिलिङ गर्न लागिएको उनले बताए।

त्यसरी ड्रिलिङ गरेर हेर्दा त्यहाँ कति मात्रामा पेट्रोलियम छ प्रमाणित गर्न, उत्पादन नै गर्न सकिने मात्रामा छ छैन यकिन गर्न, त्यसको गुण कस्तो छ थाहा पाउन सकिने बताइन्छ। त्यसपछि मात्रै कति मात्रामा उत्पादन गर्न सकिने भन्ने सम्भाव्यता अध्ययनपछि उत्खननको पाटो र त्यसपछि मात्रै आर्थिक रूपमा कति व्यवहारिक छ हेर्न सघाउ पुग्ने नापितले बताए।

चीन सरकारको सहयोगमा साईज्मिक (भूकम्पीय) सर्वेक्षण भइसकेको छ। जमिनको सतहबाट विशेष किसिमको तरङ्ग उत्पन्न गरी जमिनमुनिको तस्बिर लिइने र त्यसकै आधारमा सम्भावित खानी भएको ठाउँ पहिचान गर्ने कार्य साईज्मिक अध्ययनमा गरिन्छ।

उत्खनन गर्न सकिने सम्भावना कति ?

नेपालमा यस्ता अन्वेषणमा विदेशीलाई आकर्षित गर्न वित्तीय प्रणाली र कानुनमा आवश्यक परिमार्जन गर्न आवश्यक रहेको एक विज्ञले बताएका छन्।

भारतको आसाम र पाकिस्तानमा पेट्रोल उत्पादन हुने गरेको भन्दै त्यस्तै भौगोलिक अवस्था रहेको नेपालमा पनि पेट्रोल पाइने सम्भावना रहेको खानी तथा भूगर्भ विभागका पूर्व परियोजना प्रमुख समेत रहेका खानी विज्ञ श्यामबहादुर केसीले बताए।

उनले भने, ‘नेपालमा पेट्रोलियम पदार्थ हुनका लागि आवश्यक भौगर्भिक स्थिति र स्रोत चट्टानहरू छन्। स्रोत ढुङ्गा, तेल जम्मा हुने ढुङ्गा र तेल बनेपछि उडेर जान नदिने संरचनाहरू छ भनेर विभिन्न अध्ययनमा देखिएको छ।’

त्यसकै आधारमा गरिएको साईज्मिक अध्ययनपछि चीनले ड्रिलिङ गर्ने निर्णय गरेको हो।

चिनियाँ टोलीले एउटा ड्रिल थालेपछि त्यसको अन्वेषण सक्न पाँच महिना लाग्ने आफूहरूलाई बताएको विभागका परियोजना प्रमुख नापितले बताए।

उनीहरूले ड्रिलिङका लागि तीन ठाउँ पहिचान गरेको तर पहिलोबाट आउने परिणामपछि अन्यबारे बोल्ने उनले बताए।

‘त्यसबाट आएको परिणामबाट विश्लेषण गर्नेसम्म चिनियाँहरूले गर्ने हुन्। उनीहरूले त्यहाँ भण्डारण छ भनेर प्रमाणित गरिदिएपछि अनि हाम्रो हातमा आउँछ,’ नापितले भने।

त्यसपछि मात्रै उत्खनन र उत्पादनको पाटोमा काम हुने उनले बताए। बीबीसी न्यूज नेपाली

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ असाेज २०७९, बुधबार  १५ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।