नयाँ स्टकको आवेदन नै परेन, सर्वोच्चको आदेशपछि लाइसेन्स प्रक्रिया स्थगित

नोटबजार संवाददाता
काठमाण्डौं ।
१५कार्तिक, २०७९, मंगलवार / Nov 01, 2022 14:37:pm

नेपाल धितोपत्र बोर्डले सुरु गरेको ब्रोकर र स्टक थप गर्ने प्रक्रिया सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश पछि तत्कालका लागि स्थगित गरेको छ । बोर्डले आवेदन माग गरेको ४५ औं दिनमा प्रक्रिया स्थगित गरेको हो ।

बोर्डले धितोपत्र ब्रोकरका लागि ३० दिन र स्टक एकस्चेन्जका लागि ४५ दिन समय दिएको थियो । बोर्डले ब्रोकर लागि दिएको ३० दिनको समय असोज ३१ गतेसम्म रहेको थियो । सो अवधिमा ४५ नयाँ कम्पनीले धितोपत्र दलाल कम्पनीको लाइसेन्सका लागि बोर्डमा आवेदन दिएका थिए ।

तर, बोर्डले स्टक एक्सचेन्जका लागि भने मंगलबारसम्मको समय दिएको थियो । बोर्डको दिएको समय मध्ये सोमबार सम्म एक्सचेन्जका लागि कुनै पनि आवेदन नआएको धितोपत्र बोर्डका प्रवक्ता रुपेस केसीले जानकारी दिए । “सर्वोच्चको आदेश अनुसार बोर्डले पनि तत्कालका लागि लाइसेन्स प्रक्रिया स्थागित गरेको छ,”उनले भने,“स्टक एक्सचेन्जका लागि मंगलबार आवेदन आएको खण्डमा पनि नलिने निर्णय भएको छ ।”

सर्वोच्च अदालतले कात्तिक ४ गते न्यायाधिश तिलप्रसाद श्रेष्ठको एकल इजलासले स्टक र ब्रोकर थप गर्ने प्रक्रिया विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै तत्काल प्रक्रिया रोक्ने र दुबै पक्षको छलफलपछि मात्र उपयुक्त निर्णय लिने गरी अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

नयाँ स्टक र ब्रोकर लाइसेन्स प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्चको आदेश

बोर्डले सोही आदेशको पालना गर्दै मंगलबार लाइसेन्स प्रक्रिया रोकेको हो । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली २०६४ र धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन गरी नयाँ लाइसेन्स दिने प्रक्रिया सुरु गरेको थियो । त्यसका लागि धितोपत्र बोर्डले गत असोज २ गते आवेदन मागेको थियो ।

बोर्डले नियमावली संशोधन गरेर लाइसेन्स दिने सुरु गरेको प्रक्रिया विरुद्ध अधिबक्ता दिपक बिक्र मिश्रले रिट दायर गरेका थिए । संशोधित नियमावलीको कार्यान्वयन तत्काल रोकिनु पर्ने भन्दै अदालत पुगेका मिश्रले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ, मन्त्रीपरिषद प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ, अर्थ मन्त्रालय सिंहदरबार काठमाडौ, नेपाल धितोपत्र बोर्ड खुमलटार ललितपुर/नेपाल स्टक एक्सचेन्ज लिमिटेड यूएनआई शान्तिमार्ग भद्रकाली काठमाडौलाई प्रतिबादी बनाउदै कात्तिक एक गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

धितोपत्र बोर्डले हतारमा नयाँ स्टक एक्सचेन्ज र ब्रोकर थप्ने प्रक्रिया अघि बढाएपछि चौतर्फी ‘अब्जेक्सन’

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments