बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आइतबार बिहान आईपीओ बाँडफाँड गरिएको हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ ५१ हजार ५२२ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । यसअनुसार सर्वसाधारण लगानीकर्ताहरुलाई ५ लाख १५ हजार २२० कित्ता सेयर बाँडफाँड गरिएको छ ।
कम्पनीमा कुल १२ लाख ५८ हजार ४२१ वटा आवेदन परेकोमा १२ लाख ०६ हजार ८९९ जनाको हात खाली भएको छ । जुन कुल आवेदकको ९५.९० प्रतिशत हो । आईपीओको कुल आवेदकको ४.०९ प्रतिशत (५१ हजार ५२२ जना) ले मात्र सेयर हात पारेका हुन् ।
कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन गरिएकोमध्ये २७ हजार कित्ता सेयर सामुहिक लगानी कोष र ११ हजार ८० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँड गरिएको छ । कम्पनीले मङ्सिर २१ गतेदेखि मङ्सिर २६ गतेसम्म सर्ससाधारणबाट ५ लाख १५ हजार २२० कित्ता आईपीओ निष्काशन गरेको थियो ।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड रूपैयाँ पुगेको छ ।

६६ हजार वटा आवेदन रद्द
बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिएकामध्ये ६५ हजार ९२७ जनाको आवेदन रद्द भएको छ । कुल १२ लाख ५८ हजार ४२१ वटा आवेदन परेकोमा कुल आवेदकको ५.२४ प्रतिशत आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको हो । आवेदन रितपुर्वक नपरेका तथा दोहोरो आवेदन परेकालाई रद्द गरिएको हो ।
कुल १२ लाख ५८ हजार ४२१ वटा आवेदनमध्ये रद्द भएका आवेदनलाई अलग गरी ११ लाख ९२ हजार ४९४ वटा सदर आवेदनलाई बाँडफाँडमा सहभागि गराइएको थियो । सहभागिमध्ये ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट १० कित्ता हात पारे भने सदर भएका ११ लाख ४० हजार ९७८ जनाले सेयर पाउन सकेनन् ।
आईपीओमा कुल १ अर्ब ४३ करोड ५१ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ५१ हजार ८३० कित्ता खरिदका लागि आवेदन परेको थियो । सोमध्ये १ अर्ब ३० करोड ७८ लाख १० हजार रुपैयाँ बराबरको १ करोड ३० लाख ७८ हजार १०० कित्ता सेयर सदर भएको थियो । १२ करोड ५८ लाख ६९ हजार रुपैयाँ बराबरको १२ लाख ५८ हजार ६९० कित्ताको माग रद्द भएको थियो ।
कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाले २०७५ असार २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया